मुख्य सामग्रीमा जानुहोस्

कान्तिपुर टेलिभिजनसँग एनभीएलको प्रसारण सम्झौता

नेपाल भलिबल लिग (एनभीएल) र कान्तिपुर टेलिभिजनबीच प्रसारण सम्झौता भएको छ । सम्झौतासँगै एनभीएलको खेल प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । यो नेपालको पहिलो पुरुष भलिबल फ्रेन्चाइज लिग हो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
कान्तिपुर टेलिभिजनसँग एनभीएलको प्रसारण सम्झौता

नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक प्रसारण साझेदारका रूपमा कान्तिपुर टेलिभिजन रहेको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग भदौको पहिलो साता हुने बताइएको छ ।

नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताका क्रममा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्याय र एनभीएलका सीओओ विकास खेतान पनि सहभागी थिए ।

सम्झौताअनुसार अब एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । खेलस्थलमै आएर खेल हेर्न असमर्थ दर्शकलाई ध्यानमा राख्दै प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको आयोजक केडिया ग्रुपले जनाएको छ । आयोजकका अनुसार यो सम्झौताले नेपाली भलिबलको विकास र विस्तारमा मद्दत पुर्याउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भलिबलको पहिचान फैलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसअघि एनभीएलका छ वटा फ्रेन्चाइज टोली, तिनका मालिक, लोगो, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेका छन् । ती टोलीमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् । एनभीएलले टिकेटिङ साझेदारका रूपमा आईएमइ खल्ती लिमिटेडसँग पनि सम्झौता गरिसकेको छ ।