देशभर खेल पूर्वाधार विस्तार गर्ने सरकारी योजनाअनुसार २७ वटा क्रिकेट मैदान, फुटबल मैदान र कभर्ड हल बन्ने भएका छन् । यी आयोजना कार्यान्वयनको बाटो खोल्न पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा यो विषय सार्वजनिक गरे । खेलकुद क्षेत्रको विकासलाई केन्द्रमा राखेर परियोजना अघि बढाइएको उनले बताए । मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा देशका विभिन्न स्थानमा छनोट भएका ती २७ आयोजनाको निर्माण कार्य सुरु हुनेछ ।
रोकिएका आयोजना अघि बढाउने अपेक्षा
लामो समयदेखि अलपत्र परेका तथा गति लिन नसकेका खेलकुद पूर्वाधारसम्बन्धी आयोजनालाई अगाडि बढाउन यो समझदारीले महत्वपूर्ण भूमिका खेल्ने सरकारको अपेक्षा छ । यसअघि विभिन्न कारणले रोकिएका संरचना नयाँ ढंगले अघि बढ्ने विश्वास सरकारले लिएको छ ।
बजेट र प्राविधिक सीमितता
देशभरका सबै रंगशाला तथा खेल पूर्वाधार एकै पटक स्तरोन्नति गर्न बजेट र प्राविधिक पक्षमा सीमितता रहेकाले प्राथमिकताका आधारमा २७ आयोजनाबाट काम थाल्न लागिएको मन्त्री पोखरेलले स्पष्ट पारे । सबै पूर्वाधार एकैचोटि बनाउन सम्भव नभए पनि यी आयोजनाबाट सुरुवात हुनु महत्वपूर्ण कदम भएको उनको भनाइ छ । छनोट भएका स्थानमा निर्माण तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए ।
नयाँ संरचना तयार भएपछि स्थानीय तथा क्षेत्रीय तहमा खेल गतिविधि विस्तार गर्न सजिलो हुने सरकारको ठहर छ । यसबाट खेलाडीले अभ्यास तथा प्रतियोगिताका लागि चाहिने पूर्वाधार पाउने अपेक्षा गरिएको छ । आगामी दिनमा थप खेलकुद पूर्वाधारमा लगानी बढाउने नीति सरकारले लिएको पनि मन्त्री पोखरेलले बताए ।







