जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङको पुरुष ६० केजी तौल समूहमा नेपालका खगेन्द्र रोकामगर विजयी भएका छन्। जापानको निशिओ जिम्नेसियममा बुधबार भएको प्रारम्भिक चरणको भिडन्तमा उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई पराजित गर्दै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन्।
रोकामगरले मकाउका सालिनासविरुद्ध ५–० को स्पष्ट जित निकाले। यही जितसँगै उनी प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन्। यस एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालले हासिल गरेको यो पहिलो जित हो।
यसअघि मंगलबार भएको पुरुष ५५ केजी तौल समूहको खेलमा भने नेपालका चन्द्रबहादुर थापा पहिलो चरणमै बाहिरिएका थिए। उनलाई भारतका जादुमानी सिंहले पराजित गरेका थिए। त्यस्तै महिला बक्सिङतर्फ ५१ केजी तौल समूहमा नेपालकी रमिशा श्रेष्ठ भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन्।
रोकामगरको जितले प्रतियोगितामा नेपाली बक्सिङ टोलीलाई पहिलो सफलता दिलाएको छ र आगामी चरणका लागि उनको सम्भावना कायम राखेको छ।







