मुख्य सामग्रीमा जानुहोस्

एसियाड : करातेमा तीन पदक नजिक पुगेर चुक्यो नेपाल, सम्भावना क्षीण

नागोयाको तोयोहासी जिम्नाजियममा एरिका गुरुङ कांस्य पदकको रिपिचेजसम्म पुगेर पनि हार बेहोर्न बाध्य भइन्। राकेश मानन्धर र मीनबहादुर तामाङ पनि पदकको दौडबाट बाहिरिए, जसले नेपालको पदक सम्भावना कमजोर बनाएको छ।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
एसियाड : करातेमा तीन पदक नजिक पुगेर चुक्यो नेपाल, सम्भावना क्षीण
eKantipur

नागोया (जापान) — २०औं एसियाली खेलकुदमा नेपाली कराते टोलीले आइतबार तीन पदकको एकदम नजिक पुगेर पनि हात खाली गर्नुपर्‍यो। एरिका गुरुङ, राकेश मानन्धर र मीनबहादुर तामाङ — तीनैजना सेमिफाइनल वा कांस्य पदकको रिपिचेजमा रोकिएपछि जापान यात्रामा नेपालको पदक सम्भावना क्षीण बनेको छ।

नागोयाको तोयोहासी जिम्नाजियममा एरिकाले एउटा खेल जितेर सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन्। क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरविरुद्ध उनी ७–१ ले विजयी भएकी थिइन्। तर सेमिफाइनलमा कजाखस्तानकी सोफिया ब्रुल्टसेवासँग उनको अभियान टुंगियो। ६८ केजीमाथिको त्यो भिडन्तमा एरिकाले अन्तिम १८ सेकेन्ड बाँकी रहुन्जेल १–० को अग्रता जोगाएकी थिइन्, तर अन्तिम दुई सेकेन्डमा सोफियाले दोस्रो अंक जोडेपछि खेल २–१ ले उनको पक्षमा फर्कियो।

कांस्य पदकको रिपिचेजमा भने साउदी अरेबियाकी मुस्ताफा डिना अहमदले एरिकालाई ८–७ ले हराइन्। सुरुमा ३–० को बढत बनाएकी एरिकाले त्यसलाई कायम राख्न सकिनन्। डिनाले इप्पोनमै तीन स्कोर गर्दै खेल बराबरीमा ल्याएपछि एरिकाले अर्को इप्पोनमार्फत पुनरागमनको प्रयास गरे पनि अन्तिम क्षणमा डिनाले स्कोर गर्दै जित पक्का गरिन्।

सोफियासँग एरिका तेस्रो पटक पराजित भएकी हुन्। तीन वर्षअघि चीनको हानझाउमा भएको एसियाली खेलकुदको फाइनलमा र प्रिमियर लिगका दुई फाइनलमा पनि उनी सोफियासँगै हारेकी थिइन्। सोही हानझाउमा एरिकाले रजत पदक जितेकी थिइन् र यसपटक नेपाली करातेले उनैबाट स्वर्णको आशा राखेको थियो। प्रिमियर लिग खेल्ने तीनै खेलाडी एउटै समूहमा पर्दा एरिकाको यात्रा थप कठिन बनेको कराते प्रशिक्षक कुशल श्रेष्ठको भनाइ छ।

प्रशिक्षक श्रेष्ठको प्रतिक्रिया

कराते प्रशिक्षक कुशल श्रेष्ठले भने खेलाडीको प्रदर्शनमा आफ्नो कुनै गुनासो नरहेको बताए। उनका अनुसार खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् र त्यसमा प्रशिक्षकका तर्फबाट कुनै असन्तुष्टि छैन। खेलकुदमा कहिलेकाहीँ भाग्यको पनि भूमिका हुने उनको भनाइ छ। मिहिनेतको ठूलो हिस्सासँगै थोरै भाग्य पनि चाहिन्छ, तर त्यो थोरै भाग्यले साथ नदिँदा नतिजा बिग्रने उनले बताए।

सेमिफाइनलमा सोफियासँग एरिका पराजित हुनुलाई श्रेष्ठ दुर्भाग्य मान्छन्। आफ्नो विश्लेषणमा त्यो खेल नेपालले जितेको उनको दाबी छ। अन्तिमको भीआर प्रतिद्वन्द्वीले मागेको नभई दुई सेकेन्ड बाँकी रहेकाले एरिकालाई सास फेर्ने मौका दिन आफूले रणनीतिक रूपमा भीआर उठाएको र त्यसमा क्रस भएपछि एक स्कोर दिइएको उनले जनाए। आफ्नै अगाडि घटेको त्यो क्षणलाई उनी स्कोर मान्न तयार छैनन्। कम स्कोरमा रहेको खेलाडीले अंक ल्याउन खोज्ने भएकाले सोफियाले स्कोर गरेको उनको भनाइ छ। आफूहरूले रणनीतिअनुसारै खेले पनि दिन नमिलेको उनले स्वीकार गरे।

राकेश र मीनबहादुरको नतिजा

५५ केजीमुनि तौल समूहका राकेश मानन्धर कांस्य पदकको रिपिचेजमा मलेसियाका कालिएना सुन्दरमसँग ९–१ ले पराजित भए। त्यसअघि उनले थाइल्यान्डका नत्थाक्रित इंलोयलाई ९–० ले हराउँदै सेमिफाइनल पुगेका थिए। सेमिफाइनलमा भने उज्वेकिस्तानका खालीमोभ खुमोयोनमिर्जोसँग उनले ७–० को हार बेहोर्नुपर्‍यो।

६० केजीमुनिका मीनबहादुर तामाङ पनि पदकको प्रतिस्पर्धाबाट बाहिरिए। रिपिचेजमा साउदी अरेबियाका अल्बासेर एसएबीले उनलाई २–० ले हराए। यसअघि मीनबहादुरले हङकङका काहिम चोउलाई ४–१ ले र क्वार्टरफाइनलमा ताजकिस्तानका मिर्जोजोदा मोहम्मदलाई २–० ले पराजित गरेका थिए। तर सेमिफाइनलमा कुवेतका अब्दुल्लाह साबानसँग उनले १०–० ले हार व्यहोरे।

करातेकै सानुमाया थिङ पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिइन्। व्यक्तिगत कातामा उनी दक्षिण कोरियाकी चोइ हाइयुनसँग ५–० ले पराजित भइन्। पदकको आशा गरिएका उसुका विजय सिन्जालीको प्रदर्शन पनि निराशाजनक रह्यो। छाङछ्वानमा सहभागी २१ खेलाडीमध्ये उनी १९औं स्थानमा सीमित भए।

भलिबलमा नेपाल विजयी

यता महिला भलिबलमा भने नेपालले जित हात पारेको छ। यसअघि नै समूहचरणबाट बाहिरिसकेको नेपाली टोलीले वरियता निर्धारणको खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हरायो। नेपालले २५–२०, २५–१६ र २५–२० को सेट जित्यो। नेपालले सोमबार हङकङसँग खेल्ने छ।