मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फका गाउँमा त्रास फैलिएको छ। दशगजा नजिकैको झाडीमा बसेको बथान साँझ वा राति बस्तीभित्र पस्न सक्ने चिन्ताले स्थानीयवासी आत्तिएका छन्।
हात्तीले आश्रय लिएको क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ र टिकका विरुवा हुर्केको झाडी छ। नेपालतर्फ भने सतिघट्टा, मेचीबस्ती, गैरीगाउँलगायत बाक्लो मानव बस्ती रहेको छ। बिहानैदेखि साना बच्चासहितको बथान झाडीमा देखिएको प्रत्यक्षदर्शी जीआर धितालले बताए। हात्ती दिनभर त्यहीँै बसेको र कुनै पनि बेला गाउँ पस्लान् भन्ने डर कायम रहेको उनको भनाइ छ।
सीमामा सुरक्षा तैनाथी बढाइयो
हात्ती नेपालतर्फको बस्तीमा प्रवेश नगरून् भन्न सशस्त्र प्रहरी बल २ नं गणअन्तर्गतका विभिन्न बीओपी तथा डिभिजन वन कार्यालय झापाबाट खटिएका सुरक्षाकर्मीले सीमा क्षेत्रमा तैनाथी बढाएका छन्। यसबारे डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले जानकारी दिए।
झाडीको पूर्वतर्फ रहेको भारतीय बस्तीका १८ परिवारका सदस्यले बिहानैदेखि घर छाडेका छन्। ज्यान जोगाउन घर छाड्नेमध्ये केही नेपालतर्फका घरमा आश्रय बसेका छन् भने केही नेपालको घुमाउरो बाटो हुँदै भारततर्फ लागेका छन्।
बाटो बदलेर मेचीनगर–७ मा
जिल्ला प्रशासन कार्यालय झापाले मेचीनगर–४ को प्रसाद गौडाबाट नेपाल भित्रिन लागेको बथान रोक्न बुधबारदेखि नै सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको थियो। मेचीनगर–४ को बाहुनडाँगी सीमा क्षेत्रबाट प्रवेश गर्न नपाएपछि बथानले बाटो बदलेको छ र करिब पाँच किलोमिटर दक्षिण मेची पुलमुनिबाट मेचीनगर–७ पुगेको छ।
भारतीय भूभागबाट हात्ती नेपाल पसी स्थानीयवासीका घर भत्काउने र पाकेको धान खाने क्रम बढेपछि बथानलाई भारततर्फ फर्काउन सतर्कता उच्च पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। हात्तीको प्रवेश रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्यापिड रेस्पोन्स टिमलगायत विभिन्न संघसंस्था तथा स्थानीय किसान सक्रिय भएका छन्।







