मुख्य सामग्रीमा जानुहोस्

एकीकृत विपद् सूचना प्रणाली स्थानीय तह र जिल्लासम्म विस्तार गरिने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लास्तरसम्म पुर्‍याउने योजना अघि बढाएको छ । टर्किएमा जारी कोप–३१ का क्रममा भएको प्यानल छलफलमा प्राधिकरणले हालैका…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
एकीकृत विपद् सूचना प्रणाली स्थानीय तह र जिल्लासम्म विस्तार गरिने
Online Khabar

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क एउटै मञ्चमा राख्ने एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म पुर्‍याउने योजना अघि बढाएको छ ।

टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा आज आयोजित प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यो योजना सार्वजनिक गरेका हुन् । प्राधिकरणले सञ्चालन गरिरहेको एकीकृत डाटा पोर्टलमा जोखिम तथा विपद्सम्बन्धी सबै किसिमका विवरण एकै ठाउँमा राखेर बृहत् सूचना प्रणाली निर्माण गर्ने तयारी उनले जानकारी दिए ।

उक्त पोर्टलमार्फत नेपालमा हुने अधिकांश प्रकोपको जानकारी र तथ्याङ्क प्राप्त गर्न सकिने उप्रेतीले बताए । ती तथ्याङ्क निर्णय सहयोग प्रणाली (डिएसएस) मा प्रयोग भइरहेको पनि उनको भनाइ छ । स्थानीय तहमा सङ्कलन हुने विपद् तथ्याङ्क जिल्ला हुँदै केन्द्रमा आउने गरेको र सोही पोर्टल राष्ट्रिय अनुकूलन योजना (एनएपी) कार्यान्वयनमा समेत उपयोग हुँदै आएको उनले उल्लेख गरे ।

विपद्को अवस्था थाहा पाउन तथा कुन प्रकोपबाट कति नागरिक प्रभावित भए भन्ने पहिचान गर्न पोर्टल प्रयोग भइरहेको उप्रेतीले बताए ।

सेतु एप जोडेर बृहत् केन्द्र

आगामी दिनमा सेतु एपलाई पनि सोही प्रणालीमा आबद्ध गरेर बृहत् विपद् सूचना केन्द्र बनाउने लक्ष्य प्राधिकरणले राखेको छ । हाल विपद् पोर्टलमा घटना, जोखिम तथा क्षतिसम्बन्धी विवरण राखिँदै आएको छ ।

उक्त छलफल दिगो विकास लक्ष्य (एसडिजी) प्याभिलियनमा भएको थियो । संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडिआरआर), विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)ले कार्यक्रमको आयोजना गरेका थिए ।