मुख्य सामग्रीमा जानुहोस्

तातोपानी नाका पुनः ठप्प, व्यवसायी चिन्तित

सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनपछि बिहीबार खुलेको थियो, तर शुक्रबार बिहान इको क्षेत्रमा पानीले सडक बगाएपछि पुनः अवरुद्ध भएको छ। करिब १५० कन्टेनर सीमा पार गर्न प्रतीक्षारत छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
तातोपानी नाका पुनः ठप्प, व्यवसायी चिन्तित

सिन्धुपाल्चोक — नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका पुनः ठप्प भएको छ। पहिरोका कारण अवरुद्ध भएको नाका तीन दिनपछि बिहीबार साँझ एकतर्फी रूपमा सञ्चालनमा आएको थियो, तर शुक्रबार बिहानै भारी वर्षापछि पुनः अवरुद्ध भएको हो।

सोमबार लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि बन्द भएको कोदारी सडकखण्ड मर्मत गरी बिहीबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सडक खुलेसँगै सीमापार कन्टेनर आवतजावत सुरु भएको थियो। तर बिहीबार रातभरको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको पानीले सडक बगाएपछि नाका फेरि बन्द भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीले बताए।

भण्डारीका अनुसार लिपिङ, डाक्लाङ र इको क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएपछि चीनबाट कन्टेनर भित्रिन थालेका थिए। सडक अवरुद्ध हुँदा चीनतर्फबाट स्याउ, सुन्तला, अदुवा, रेडिमेड सामग्री तथा विभिन्न उपकरण बोकेका करिब १ सय ५० कन्टेनर कोदारी नाका पार गर्ने प्रतीक्षामा थिए। जसमा २० वटा कन्टेनर मात्र पार भएका छन् र अधिकांश पहिरो पारि छन्। न्यालमलगायत चीनका विभिन्न स्थानमा करोडौं रुपैयाँ बराबरका सामग्री लोड गरिएका ४५ भन्दा बढी कन्टेनर पनि रोकिएका थिए।

बारम्बारको अवरोधले व्यवसायी थप निराश बनेका छन्। हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीले वर्षेनी सडक अवरुद्ध हुने समस्या दोहोरिने भएकाले स्याउ बोकेका धेरै कन्टेनर केरुङ नाकातर्फ मोड्नुपरेको बताए। 'विगत वर्षमा झै कन्टेनरमै फलफुल कुहिएर फाल्नुपर्ने बाध्यता होला भनेर हामि तनावमा छौ, हाम्रो यो दु:ख सरकारले कहिले देख्छ ?,' उनले भने।

इको पहिरोमाथि करिब १ सय ७५ घरधुरी रहेको र तलतिर भोटेकोशी नदीले निरन्तर कटान गरिरहेकाले दीर्घकालीन समाधान चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ।