अर्घाखाँचीमा यो वर्ष डंगर, हिमाली र हाडफोर गिद्ध गरी तीन प्रजातिका गिद्धले ३३ बचेरा सफलतापूर्वक उडाएका छन्। गिद्ध विशेषज्ञ कृष्णप्रसाद भुसालका अनुसार डंगर गिद्धले २३ गुँड लगाएकामा १५, हिमाली गिद्धले २२ मा १६ र हाडफोर गिद्धले ३ मा २ गुँड सफल भएको छ।
संरक्षणकर्मी चिरञ्जीवी खनालले एकै ठाउँमा ठूलो संख्यामा बचेरा हुर्किनु संरक्षणको दृष्टिले राम्रो मानिएको बताए। उनका अनुसार बीसीएनको अध्ययनले चार वर्षयता गुँड लगाउने जोडीको संख्या बढेको देखाएको छ। 'दुई दशकभन्दा बढी समयदेखि भइरहेको संरक्षण प्रयास, बढ्दो सचेतना र गिद्धको महत्त्व बुझ्दा अहिले यसको संख्या बढ्दै गएको हो,' उनले भने।
प्रजनन सफलता र चुनौती
सन् २०२३/२४ मा डंगर गिद्धका ६ सय ५८ जोडीले अण्डा पारे पनि ४ सय ८० वटा मात्र उड्न सफल भएका थिए। त्यस्तै २०२२/२३ मा ५ सय ६९ जोडीले गुँड बनाएकामा ४ सय २ जोडीले बचेरा उडाए। नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्र गुँड बनाएर बच्चा कोरल्ने गर्छन्। डंगर, सुन र सानो खैरो गिद्धले रूखमा गुँड लगाउँछन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा।
प्रजनन सफलता दर करिब ६० प्रतिशत मात्र छ, बीसीएनकी प्रमुख कार्यकारी अधिकृत ईशाना थापाले भनिन्, अण्डामा बच्चा नपर्ने, उड्न सिक्दा लडेर मर्ने र विषादीयुक्त सिनो खुवाउँदा मर्ने समस्याले प्रजनन सफल हुन सकेको छैन।
प्रायः एक्लो बस्ने पोथी गिद्धले कात्तिक–मंसिरतिर जोडी खोज्छ। पुसको दोस्रो–तेस्रो सातातिर अण्डा पारेर ओथारो बस्छ। ५०–६० दिन ओथारो बसेपछि माघ–फागुनमा बच्चा जन्मन्छ। 'बचेरा तीन महिनाको भएपछि माउले उड्न सिकाउँछ,' भुसालले भने।
संरक्षण प्रयास र औषधि प्रतिबन्ध
सन् १९९० ताका भारत र नेपालमा डंगर गिद्धको संख्या निकै घटेको थियो। भारतमा ९९.९ प्रतिशत र नेपालमा ९१ प्रतिशतभन्दा बढी लोप भइसकेको थियो। प्रमुख कारण पशुमा लगाइने डाइक्लोफेनेक औषधि थियो। सरकारले २०६३ जेठमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि गिद्धको संख्या बढ्दै गएको हो। त्यस्तै निमोस्लाइड, किटोप्रोफेन र एसिक्लोफेनेकमा पनि २०८३ सालदेखि प्रतिबन्ध लागेको छ।
नेपालमा वयस्क डंगर गिद्धको अनुमानित संख्या सन् २०१६ मा दुई हजारभन्दा कम थियो। त्यसयता नयाँ अध्ययन भएको छैन। तिलौराकोट साझेदारी वनका उपभोक्ता समूह अध्यक्ष जयप्रकाश पाण्डेले गिद्धको महत्त्व बुझेपछि गुँड क्षेत्रको संरक्षणमा स्थानीय समुदाय सक्रिय भएको बताए। 'पहिले गिद्धले छोए स्वस्ति शान्ति गर्नुपर्छ भन्ने परम्परा थियो, अहिले वन क्षेत्रका गुँड छेउछाउ कसैलाई जान दिँदैनौँ,' उनले भने।

