काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित घरबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चोरीमा संलग्न एक जना र चोरिएका गरगहना खरिद गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा घटनामा संलग्न भएको खुल्न आएका चारै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरू यी हुन् :
सावन कुशवाहा, २९ वर्ष, काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने, स्थायी घर महोत्तरी गौशाला नगरपालिका–५
पबित्रा लिम्बु, ३६ वर्ष, तेह्रथुम आठराई गाउँपालिका–८
श्रीकृष्ण विश्वकर्मा, २५ वर्ष, दोलखा गौरीशंकर गाउँपालिका–५
रमिला विक, ४३ वर्ष, काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने, स्थायी घर भोजपुर नगरपालिका–५ बोखिम
प्रहरीका अनुसार उनीहरूमध्ये सावनले गरगहना चोरी गरेका थिए भने पबित्रा, श्रीकृष्ण र रमिलाले ती गरगहना खरिद गरेका थिए। गत साउन १८ गते काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित घरबाट सुन तथा चाँदीका गरगहना चोरी गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूसम्म प्रहरी पुगेको हो।
प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना बरामद गरेको छ। थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।







