जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ । आज (श्रावण २) ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत जिल्लामा बहाव बढ्ने सम्भावना छ । यस्तै मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुरका खोला नदीमा पनि पानीको सतह बढ्ने महाशाखाको अनुमान छ ।
बाढीविद् विनोद पराजुलीले यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री र निर्माण कार्यमा संलग्नहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले निरन्तर वर्षाका कारण पहाडी र हिमाली क्षेत्रमा बहाव बढ्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी आवश्यक रहेको बताए ।
विभागले मनसुनी गतिविधि बढेको जनाउँदै हिमाली र पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । मौसमविद् डेभिड ढकालका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।

