मुख्य सामग्रीमा जानुहोस्

हात्ती सफारीको विकल्प खोज्दै चितवनको पर्यटन व्यवसाय

सौराहामा हात्ती सफारीको प्रयोग घट्दै गएको छ। कोरोनाअघि ६३ वटा हात्ती प्रयोग हुने गरेकामा अहिले ३८ देखि ४० वटा मात्र छन्। सहकारीले विकल्पका रूपमा इलाफेन्ट वाकलाई अघि बढाउनुपर्ने तर सरकारको नीतिगत सहयोग नभएको बताएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
हात्ती सफारीको विकल्प खोज्दै चितवनको पर्यटन व्यवसाय

सौराहा क्षेत्रमा हात्ती सफारीको प्रचलन घट्दै गएको छ। कोरोना महामारीअघि दैनिक ६३ वटा हात्ती सफारीमा प्रयोग हुने गरेकोमा अहिले त्यो संख्या घटेर ३८ देखि ४० मा सीमित भएको छ। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सहकारीसँग हाल ३० वटा हात्ती छन् भने सहकारीबाहिर १४ वटा हात्ती रहेका छन्।

कोरोनाकालमा पर्यटन क्षेत्र सुस्ताउँदा सहकारीले भाडामा ल्याएका हात्ती फिर्ता गर्नुपरेको थियो। केही हात्ती बिक्री भएर भारत गएको खतिवडाले बताए। अहिले बचेका हात्तीको उचित व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ।

सहकारीले हात्ती सफारीको विकल्प खोज्नुपर्ने अवस्था आएको छ। तर, त्यसका लागि एक्लो प्रयास पर्याप्त नहुने भन्दै खतिवडाले सरकारसँग नीतिगत व्यवस्थाको माग गरेका छन्। 'हामीलाई सफारीको विकल्प खोज्न भनिएको छ, तर इलाफेन्ट वाक कहाँसम्म जाने, कसरी गर्ने भन्ने नीति छैन,' उनले भने, 'हामी अदालतको आदेश मान्छौं, तर तत्काल विकल्पमा जाँदा पर्यटन क्षेत्र प्रभावित हुन्छ। विकल्प अपनाउन प्रचारप्रसारको समय चाहिन्छ।'

सौराहा क्षेत्रको पर्यटन व्यवसाय हात्ती सफारीमा निर्भर छ। तर, हात्तीको संख्यामा कमी र वैकल्पिक व्यवस्थाको अभावले भविष्यमा यस क्षेत्रको पर्यटनमा असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।