मुख्य सामग्रीमा जानुहोस्

पुनर्निर्माणपछि सञ्चालनमा आयो रामेछापको ठेडिखोला पुल

रामेछापको मन्थली नगरपालिकाको वडा ६ कुनौरी र ७ भटौली जोड्ने ठेडिखोला पक्की पुल पुनर्निर्माणपछि सञ्चालनमा आएको छ। करिब एक वर्षअघि निर्माणकै क्रममा भाँचिएको स्पान हटाएर नयाँ बनाइएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
पुनर्निर्माणपछि सञ्चालनमा आयो रामेछापको ठेडिखोला पुल

रामेछाप, श्रावण ३ — निर्माणकै क्रममा स्पान भाँचिएपछि चर्चामा रहेको मन्थली नगरपालिकास्थित ठेडिखोलाको पक्की पुल पुनर्निर्माणपछि सवारी साधन सञ्चालनमा आएको छ। सडक विभाग, पुल सेक्टर काठमाडौंकी आयोजना प्रमुख रत्न लक्ष्मी बज्राचार्यले पुलको मुख्य संरचना निर्माण सम्पन्न भएसँगै लोड टेस्टिङ पनि सफल भएको बताइन्। उनका अनुसार अब एप्रोच सडकको फिनिसिङ र कालपत्रेको केही काम मात्र बाँकी छ। पुलमा कुनै प्राविधिक समस्या नरहेको र गाडीहरू गुडिसकेको उनले जानकारी दिइन्।

गत वर्ष २६ वैशाख २०८२ मा निर्माणकै क्रममा पुलको एउटा स्पान भाँचिएको थियो। त्यसपछि आयोजना स्थगित भएको थियो। बज्राचार्यले भाँचिएको स्पान मर्मत नगरी पूर्णरूपमा भत्काएर नयाँ निर्माण गरिएको बताइन्। उनले भनिन्,

“पुलको भाँचिएको स्पान पूर्णरूपमा हटाएर नयाँ निर्माण गरिएको छ। सबै परीक्षण र लोड टेस्टिङ सफल भएको छ। अहिले पुलमा कुनै प्राविधिक समस्या छैन।”

उनका अनुसार, ‘यदि भत्किएको भागलाई बनाउने मात्र काम गरिएको भए चिन्ता हुन सक्थ्यो। तर त्यो भाग पूरै हटाएर नयाँ निर्माण गरिएको हो।’

पुल निर्माणको विवरण

चार वटा स्पान रहेको यो पुल २३० मिटर लामो र ११ मिटर चौडा छ। सडक विभागले आर्थिक वर्ष २०७८/७९ मा कालिका–कल्पवृक्ष जेभीसँग भ्याट र पिएस आइटमबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। निर्माण सम्झौताअनुसार पुलको काम भदौ मसान्त २०८२ सम्म सक्नुपर्ने भए पनि कम्पनीले असारमै सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर स्पान भाँचिएपछि काम ढिलो भयो। पुनर्निर्माणपछि हाल पुल सञ्चालनमा आएको छ। औपचारिक उद्घाटन भने भएको छैन।

यातायातमा सहजता

यो पुल सञ्चालनमा आएसँगै रामेछाप सदरमुकाम मन्थली हुँदै जिल्लाको क्षेत्र नम्बर २ का खाँडादेवी, दोरम्बा, शैलुङ र सुनापति गाउँपालिका सीधै जोडिएका छन्। साथै, मन्थलीबाट खाँडादेवी, सुनापति हुँदै काभ्रेपलाञ्चोक निस्किएर राजधानी काठमाडौं जान यो पुलले छोटो दूरी बनाएको छ। यसले स्थानीय बासिन्दाको दैनिक यातायातमा ठूलो सहजता पुर्याएको छ।