एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय मोर्चालाई बलियो बनाउन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको भेलालाई आइतबार सम्बोधन गर्दै उनले कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे।
‘संसदमा कानुन बनाउन संख्या पुग्दैन होला तर सही कानुन बनाउन हाम्रा बहस, संशोधनबाट प्रकट हुनुपर्छ,’ उनले भने। उनले अध्ययन र अनुसन्धान गरी संसद्मा भूमिका खेल्न पनि निर्देशन दिए। ‘अर्कोले खुलाइदिएका भरमा मात्र प्रभावकारी हुँदैन। विज्ञले बाटो देखाइदिने हो। सबै कुरा लेखेर दिन्छौं र संसदमा प्रस्तुत गर्ने भन्ने हुँदैन। आफ्नो संकल्प छ भने ज्ञान प्राप्त गर्न सक्छौं,’ उनले थपे।
उनले पार्टी नीति र सिद्धान्तका आधारमा संसद्मा भनाइ राख्न सुझाव दिए। ‘पार्टी, नीति, सिद्धान्त आधार बनाएर बोल्नुपर्छ। संख्या कति छ भन्ने कुरा होइन। समस्या जनताले उठाएका छन्। हामी सत्य र तथ्यका आधारमा कति जान्छौं,’ उनले भने।
ओलीले सरकारले मिटरब्याजपीडितसँग सम्झौता गरी धोका दिएको आरोप लगाए। ‘मिटरब्याजपीडितलाई सरकारले एकपटक धोका दिएको छ। अलिपछि थाहा पाउँछन्,’ उनले भने। उनले सरकारले केही शीर्षकमा कर बढाएर गरिबलाई पीडा दिएको बताए। ‘मूल्यवृद्धि, कर वृद्धिले गरिबलाई डुबाउँछ,’ उनले भने।

