कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगलमा च्याउ टिप्न गएर हराएका १७ महिलालाई सकुशल उद्धार गरिएको छ। आइतबार बिहान च्याउ टिप्न जंगल प्रवेश गरेका ती महिला बाटो बिराएर सम्पर्कविहीन भएका थिए।
हराउनेमा भीमदत्त नगरपालिका–१९ बागफाँटा र वेदकोट नगरपालिका–१० चतहरीका १४ महिला र बेलडाँडी गाउँपालिका–२ चवन्नीका ३ महिला रहेको जनाइएको छ। उद्धारका लागि निकुञ्जमा रहेका ९ वटै पालुवा हात्ती परिचालन गरिएको थियो भने ड्रोनमार्फत पनि निगरानी गरिएको थियो।
सोमबार मध्यान्ह बेलडाँडी गाउँपालिकाका मञ्जु रानाक्षेत्री, लक्ष्मी थापामगर र सीता चौधरीलाई पहिलो चरणमा उद्धार गरिएको थियो। त्यसपछि दिउँसो भीमदत्त र वेदकोटका बाँकी १४ जनालाई पनि उद्धार टोलीले फेला पारेर सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए।
उनले भने, 'सबै जना सुरक्षित अवस्थामा फेला परेका छन्। आवश्यक समन्वय र खोजीपछि उनीहरूलाई जंगलबाट बाहिर ल्याएर घर पठाइएको छ।' हराइरहेकाहरूको खोजीमा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासी परिचालित भएका थिए।
