पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
लु २ ख १७१९ नम्बरको खाली टिपर बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको थियो। गएराति करिब ११ बजे टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको थियो।
प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको टोलीले चालकलाई उद्धार गरी उपचारका लागि बुटवलको मर्सिसिटी अस्पताल पठाएको थियो। गम्भीर घाइते चालकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
