७ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध नियन्त्रण ब्युरोले ८ किलोग्राम गाँजासहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको मणिपुर राज्यकी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेको ब्युरोका सहप्रवक्ता जीवन निरौलाले बताए।
उनीहरू थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौं आएका थिए। विमानस्थलमा ओर्लनेबित्तिकै ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको सुटकेसभित्र लुकाइएको अवस्थामा ८ किलोग्राम थाइल्यान्डको गाँजा फेला परेको ब्युरोले जनाएको छ। घटनास्थलबाट दुई थान राहदानी र दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जानकारी दिएको छ।
