मुख्य सामग्रीमा जानुहोस्

एआई दुरुपयोगविरुद्ध उजुरी दिन संगीत रोयल्टी संकलन समाजको आग्रह

संगीत रोयल्टी संकलन समाजले कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत बिना सहमति गीत-संगीत प्रयोग गर्नेविरुद्ध औपचारिक लिखित उजुरी दिन स्रष्टाहरूलाई आग्रह गरेको छ। समाजले गीत-संगीतको क्याटालग दर्ता तथा अद्यावधिक गर्न पनि भनेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी बिना सहमति डिजिटल माध्यममा गीत-संगीत राख्ने प्रवृत्तिविरुद्ध उजुरी दिन सर्जकहरूलाई आग्रह गरेको छ। समाजले बिहीबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

समाजका कार्यकारी अधिकृत सागर पाण्डेले सूचना जारी गर्दै औपचारिक रूपमा लिखित उजुरी दिन आग्रह गरेका छन्। उनले भने, ‘पछिल्लो समय विना सहमति एआईबाट गीत बनाएर इन्टरनेटमा हालिएको घटनामा मौखिक गुनासा धेरै आएका छन्। केहीले साइबर ब्यूरोमा उजुरी दिएका छन्। तर, हामीकहाँ लिखित उजुरी आउन सकेको खण्डमा त्यस्ता गीतविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा चलाउनेदेखि डिजिटल प्लाटफर्मबाटै हटाउनेतर्फ पहल हुनसक्छ।’

समाजले स्रष्टाहरूलाई आफ्नो गीत-संगीतको क्याटालग दर्ता तथा अद्यावधिक गर्न पनि सूचित गरेको छ। एआईको दुरुपयोग रोक्न कानुनी प्रक्रिया अघि बढाउन समाज तयार रहेको जनाइएको छ।

पाण्डेका अनुसार, पछिल्लो समय नयाँ गीत रिलिज भएलगत्तै एआई प्रयोग गरी ती गीतलाई आफ्नो नाममा हाल्ने गरेको पाइएको छ। वास्तविक स्रष्टालाई उल्टै आफ्नै गीतमा प्रतिलिपि अधिकार उल्लंघनको दाबी लाग्न थालेपछि समाजले यो पहल सुरु गरेको हो।

यसअघि नाम चलेका कलाकार र ब्यान्डले सामाजिक सञ्जालमार्फत आफ्ना गीतलाई एआईले बिगारेर नहाल्न आग्रह गर्दै आएका थिए। पाण्डेले युरोपेली युनियनलगायत देशमा एआई प्रयोग गरी प्रतिलिपि अधिकार उल्लंघन हुने घटनामा भइरहेको पहल नेपालमा पनि सुरु गर्न सकिने बताए।