काठमाडौँ — ०८२ असारमा संघ र प्रदेश सरकारबाट बाहिरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकारको नेतृत्व लिने रणनीतिमा जुटेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस–एमाले गठबन्धन टुटेपछि नेकपाले मुख्यमन्त्रीको दाबी गरेको छ भने कर्णालीमा कांग्रेससँग सहकार्यको सम्भावना बढेको छ ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेकपाको दाबी रहेको छ । उनले भने, “सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा हाम्रो दाबी छ । त्यहीअनुसार छलफल भइरहेको छ ।” सुदूरपश्चिम प्रदेशसभामा नेकपाका १५, एमालेका ११ र कांग्रेसका २१ सांसद छन् । कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाएर नेकपा–एमाले गठबन्धन बनाउने तयारी भइरहेको छ । एमाले सचिव पद्मा आर्यालले कांग्रेसले एमालेका चार मन्त्री बर्खास्त गरेपछि गठबन्धनमा समस्या उत्पन्न भएको बताइन् ।
कर्णाली र लुम्बिनीमा नयाँ समीकरण
कर्णाली प्रदेशमा पनि कांग्रेस–एमाले गठबन्धन टुटेको छ । मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कांग्रेस, नेकपा र समाजवादीका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्रीको प्रस्तावित उम्मेदवार हुन् । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक छ । कांग्रेस र नेकपासँग १४–१४ सांसद रहेकाले स्पष्ट बहुमत छ । एमालेसँग १० सांसद छन् ।
लुम्बिनी प्रदेशमा पनि नेकपा सरकारमा सहभागी हुने तयारीमा छ । नेकपा सांसद इन्द्रजित थारुले नयाँ गठबन्धन बन्ने अवस्था आए नेकपा सरकारमा जाने बताए । ८७ सदस्यीय प्रदेशसभामा हाल ८३ सांसद छन् । सरकार गठनका लागि ४२ सांसद चाहिन्छ । कांग्रेसका २७ र नेकपाका १३ सांसद मिल्दा ४० मात्रै पुग्छ, त्यसैले साना दलको सहयोग आवश्यक छ । एमाले–नेकपा गठबन्धनमा भने ४३ सांसद पुग्छ ।
बागमती र अन्य प्रदेशको अवस्था
बागमती प्रदेशमा पनि नयाँ गठबन्धनको सम्भावना देखिएको छ । पूर्वमुख्यमन्त्री एवं सांसद शालिकराम जमकट्टेलले बताएअनुसार नेकपा मुख्यमन्त्रीको दाबी गर्न तयार छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र नेकपाका २८ सांसद छन् । कांग्रेस–नेकपा गठबन्धन सहजै बन्न सक्छ । तर एमालेसँग २७ सांसद भएकाले एमाले–नेकपा गठबन्धनका लागि थप एक सांसद चाहिन्छ, जसमा राप्रपा वा हामी नेपाली पार्टीसँग मिल्नुपर्ने हुन्छ ।
मधेश, कोशी र गण्डकी प्रदेशमा भने कांग्रेस–एमाले गठबन्धन स्थिर छ । मधेशमा नेकपा पहिलेदेखि नै सरकारमा सहभागी छ । कोशीमा एमालेका हिक्मत कार्की र गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् । यी प्रदेशमा नेकपा प्रतिपक्षमा छ ।
नेकपा संयोजक पुष्पकमल दाहालले कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यही साता कुराकानी गरेका छन् । दाहाल श्रीलंका गएकाले फर्केपछि प्रदेशहरूमा गठबन्धनबारे टुंगो लाग्ने नेकपा प्रवक्ता ज्वालाले बताए । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले केही प्रदेशमा गठबन्धन टुटे पनि अरूमा एमालेसँग सहकार्य कायम रहने उल्लेख गरे । एमाले सचिव पद्मा आर्यालले आगामी दिनमा वाम सहकार्यको सम्भावना रहेको बताइन् ।






