मुख्य सामग्रीमा जानुहोस्

कांग्रेसद्वारा ‘एनसी फर एनसी’ अभियान घोषणा, नागरिक हितमा केन्द्रित हुने

नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस फर नेसनल कज’ (एनसी फर एनसी) अभियान सुरु गरेको छ। यो अभियानले पार्टीलाई सामाजिक सेवा र नागरिक कल्याणसँग जोड्ने लक्ष्य राखेको छ। आगामी २४ भदौदेखि यसको औपचारिक थालनी हुनेछ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस फर नेसनल कज’ (एनसी फर एनसी) नामक नयाँ अभियान घोषणा गरेको छ। पार्टी सभापति गगनकुमार थापाले संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उक्त अभियानको सार्वजनिक गरेका हुन्।

सभापति थापाका अनुसार यो अभियान पार्टीलाई परम्परागत राजनीतिभन्दा बाहिर लगेर सामाजिक सेवा, नागरिक कल्याण र सार्वजनिक सरोकारका विषयमा केन्द्रित गर्ने उद्देश्यले ल्याइएको हो। उनले भने, 'यो अभियान 'एनसी फर एनसी' हो। एनसी भनेको नेपाली कांग्रेस। नेपाली कांग्रेस फर नेपाली कांग्रेस होइन, नेपाली कांग्रेस फर नेसनल कज।'

अभियानका चार क्लस्टर

कांग्रेसले ‘एनसी फर एनसी’ अन्तर्गत पार्टीका सदस्य तथा समितिहरूलाई रुचि र क्षमताअनुसार चार प्रमुख क्लस्टरमा विभाजन गर्ने जनाएको छ। पहिलो क्लस्टर ‘सामुदायिक सेवा’ हो, जसमा रक्तदान, वृक्षरोपण, सार्वजनिक पूर्वाधार निर्माण, विपद् व्यवस्थापन र स्वास्थ्य सेवाजस्ता क्रियाकलाप समावेश हुनेछन्।

दोस्रो क्लस्टर ‘व्यक्तिगत सहयोग’ हो, जहाँ विपन्न परिवारका बालबालिकाको शिक्षा तथा वैदेशिक रोजगारीमा समस्या परेका नेपालीलाई सहयोग गर्ने गतिविधि पर्नेछन्। तेस्रो क्लस्टर ‘नागरिक अभियान’ हो, जसले जलवायु परिवर्तन, सडक दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनविरुद्ध, महिला हिंसा अन्त्य, युवा सहभागिता र छुवाछुतविरुद्धको अभियानलाई समेट्नेछ।

चौथो क्लस्टर ‘नागरिक सहजीकरण तथा सुशासन’ हो, जसले सार्वजनिक नीति सुधार, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलगायत समुदायको हितमा काम गर्नेबताइएको छ। सभापति थापाका अनुसार यी क्लस्टरहरू पछि थप पनि हुन सक्नेछन्।

कार्यान्वयनको तयारी

सभापति थापाले यो अभियान आगामी २४ भदौदेखि औपचारिक रूपमा सुरु हुने जानकारी दिए। उनले भने, 'साउन २४ देखि भदौ २४ सम्म हामी सांगठनिक तयारी गर्छौं। यसको डिटेल हामीले बनाइसकेका छौं।' उनले थपे, 'भदौ २४ गते प्रत्येक नेपाली कांग्रेसको कार्यकर्ताले एक वर्षका निम्ति आफूले गर्ने एउटा अभियानको प्रतिज्ञा गर्नु पर्नेछ। यो स्वेच्छिक हो।'

पार्टीले अभियानअन्तर्गत सदस्य तथा समितिहरूबाट आउने सुझावलाई वेबसाइटमार्फत् संकलन गर्ने र अभिलेख राख्ने योजना बनाएको छ। सभापति थापाले नयाँ पुस्ता र पुराना अनुभवीहरूको रायलाई पनि समावेश गरिने बताए।

कांग्रेसले यसअघि ‘द ग्रिन टेबल’ संवाद कार्यक्रममार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आएको थियो। नयाँ अभियानलाई त्यसैको निरन्तरताको रूपमा हेरिएको छ।