मुख्य सामग्रीमा जानुहोस्

हात्तीमारा खोला कहाँ छ ? प्रदर्शनले उदयपुरको अतिक्रमित खोलामा प्रश्न

उदयपुरको गाईघाटमा हात्तीमारा खोला अतिक्रमण गरी बस्ती बनाइएको भन्दै शुक्रबार प्रदर्शन भएको छ । अभियन्ता खेमनारायण यादवको नेतृत्वमा भएको प्रदर्शनले प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

उदयपुरको गाईघाटमा शुक्रबार ‘हात्तीमारा खोला कहाँ छ ?’ भन्ने नाराका साथ प्रदर्शन गरिएको छ । अभियन्ता, विद्यार्थी र स्थानीय व्यापारीहरू गाईघाटको मुख्य चोकमा जम्मा भएर हात्तीमारा खोला पुनर्स्थापनाको माग गरेका हुन् ।

प्रदर्शनको नेतृत्व गरेका अभियन्ता खेमनारायण यादवले खोला अतिक्रमण गरी बस्ती बनाइएको बताए । उनका अनुसार गाईघाट बजारको दक्षिणी भाग हुँदै बग्ने हात्तीमारा खोला अतिक्रमणका कारण हराएको छ ।

प्रदर्शनकारीहरूले २०६२/६३ को जनआन्दोलनपछि खोला ठूलो पैमानामा अतिक्रमणमा परेको आरोप लगाए । उनीहरूले भूमाफियाले सार्वजनिक जमिन कब्जा गरी बिक्री गरेर बस्ती बसाएको दाबी गरेका छन् ।

यादवले वर्षौंदेखि खोला पुनर्स्थापनाका लागि अभियान चलाए पनि स्थानीय प्रशासन र नगरपालिकाबाट सहयोग नपाएको बताए । पटक–पटकको आग्रहलाई बेवास्ता गरिएपछि सडकमा आएर दबाब सिर्जना गर्नुपरेको उनको भनाइ छ ।

प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्रमा हात्तीमारा खोला पुनर्स्थापना, सबै अतिक्रमण हटाउन र सार्वजनिक जमिन कब्जा तथा बिक्री गर्ने विरुद्ध कानुनी कारबाहीको माग गरिएको छ ।

प्रदर्शनकारीहरूले प्रशासनले ठोस कदम नचालिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले खोला पुनर्स्थापना नभएसम्म सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आवाज उठाइरहने बताए ।