अमेरिकी सिनेटर लिन्डसे ग्रहमको ७१ वर्षको उमेरमा यसै महिना अचानक निधन भएपछि उनको सम्मानमा मंगलबारदेखि वाशिङ्टन र दक्षिण क्यारोलाइनामा दुई दिने श्रद्धाञ्जली कार्यक्रम सुरु हुँदैछ। रिपब्लिकन पार्टीका वरिष्ठ नेता तथा क्यापिटल हिलका प्रभावशाली सांसद रहेका ग्रहमलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति डोनाल्ड ट्रम्प, क्याबिनेट सदस्य, कांग्रेस नेता तथा विश्वका प्रमुख नेताहरू सहभागी हुनेछन्।
ग्रहमको पार्थिव शरीरलाई मंगलबार बिहान सेनाको एक टोलीले क्यापिटलको रोटुन्डामा लैजानेछ। त्यहाँ एक विशेष समारोह आयोजना हुनेछ, जुन निजी हुने भए पनि लाइभस्ट्रिम गरिनेछ। सिनेटका बहुमत नेता जोन थुनले भनेका छन्, “सैन्य सेवादेखि राज्य राजनीति र दशकौंसम्म दक्षिण क्यारोलाइनाको प्रतिनिधित्व गर्दै लिन्डसेले आफ्नो जीवन सार्वजनिक सेवामा समर्पित गरे। अब उनका साथी र सहकर्मीहरूले यस विशेष क्यापिटल सम्मान मार्फत उनलाई श्रद्धाञ्जली दिनु उपयुक्त हुनेछ।”
त्यसपछि ग्रहमको पार्थिव शरीरलाई वाशिङ्टन नेसनल क्याथेड्रलमा लगिनेछ, जहाँ दिउँसो २ बजे निमन्त्रणामा मात्र सीमित अन्तिम संस्कार सेवा हुनेछ। राष्ट्रपति ट्रम्पले उक्त सेवामा सम्बोधन गर्ने अपेक्षा गरिएको छ। ट्रम्पले ग्रहमलाई आफ्नो परिवारजस्तै मान्थे र उनीसँग अन्तिम पटक कुरा गर्नेमध्ये एक थिए।
वाशिङ्टनमा श्रद्धाञ्जली
क्यापिटलमा हुने समारोहमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुने छन्। यी दुवै नेताले रक्षा तथा विदेश नीति मामिलामा ग्रहमसँग नजिकको सहकार्य गरेका थिए। ट्रम्पले मंगलबार छुट्टाछुट्टै रूपमा नेतन्याहू र जेलेन्स्कीसँग भेट्ने कार्यक्रम पनि छ।
ग्रहमको निधन भएको दुई दिनपछि दक्षिण क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले उनकी बहिनी डार्लिन ग्रहमलाई सिनेटको रिक्त सिटमा नियुक्त गरेका थिए। डार्लिन ग्रहमले पूर्ण छ वर्षे कार्यकालका लागि उम्मेदवारी घोषणा गरिसकेकी छन् र अगस्ट ११ मा हुने प्राथमिक चुनावको सामना गर्नुपर्नेछ।
दक्षिण क्यारोलाइनामा अन्तिम संस्कार
वाशिङ्टनको कार्यक्रमपछि ग्रहमको पार्थिव शरीर दक्षिण क्यारोलाइना पुर्याइनेछ। बुधबार बिहान कोलम्बिया स्थित दक्षिण क्यारोलाइना स्टेट हाउसमा सार्वजनिक श्रद्धाञ्जलीका लागि शवयात्रा निकालिनेछ। ग्रहमको शव साउथ क्यारोलाइना स्टेट गार्डको घोडा तान्ने सैन्य गाडी (काइसन) मा राखिनेछ र स्टेट हाउसको उत्तरतर्फको भागमा कानून प्रवर्तन एजेन्सीहरूको उपस्थिति हुनेछ। एफ-१६ फाइटर जेटले उडान गरेर सम्मान अर्पण गर्नेछ। त्यसपछि शवयात्रा मेन स्ट्रिट हुँदै फस्र्ट ब्याप्टिस्ट चर्च अफ कोलम्बिया पुग्नेछ, जहाँ अन्तिम संस्कार सेवा हुनेछ। पारिवारिक चिहान पिकेन्स काउन्टीमा हुनेछ, जहाँ लिन्डसे र डार्लिन ग्रहम जन्मेका र हुर्केका थिए।
लिन्डसे ग्रहमको जुलाई ११ को राति आफ्नो निवासमा हृदयघातको कारण निधन भएको थियो। उनी युक्रेनको किभ भ्रमणबाट फर्केका थिए र भोलिपल्ट एनबीसी समाचारको ‘मिट द प्रेस’ कार्यक्रममा सहभागी हुने तय थिए। उनको कार्यालयका अनुसार मृत्युको प्रारम्भिक कारण ‘एओर्टिक डिसेक्सन’ अर्थात् धमनीको पर्खाल च्यातिनु रहेको छ। विषविज्ञान र अन्य परीक्षणको नतिजा आउन बाँकी छ।
