काजाकस्तानले सोमबार क्यास्पियन पाइपलाइन कन्सोर्टियम (सीपीसी) मार्फत कच्चा तेल निर्यात पुनः सुरु गरेको छ। एक साताअघि ड्रोन हमलाका कारण बन्द भएको कालो सागरको समुद्री टर्मिनल सञ्चालकले पुनः खोलेपछि उत्पादकले पाइपलाइनमा तेल पठाउन थालेको काजाकस्तानको ‘अस्ताना टाइम्स’ले जनाएको छ।
चेभरनको नेतृत्वमा रहेको तेन्गिज्चेभरोइल परियोजनाबाट दुई ट्याङ्करले नोभोरोसिस्क टर्मिनलमा तेल लोड गरिरहेको काजाकस्तानको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्यात सञ्चालन सुरक्षा मूल्याङ्कनको आधारमा जारी रहनेछ।
गत साता टर्मिनल नजिकै र त्यहाँ सञ्चालनमा रहेका जहाजमा पटक-पटक ड्रोन हमला भएपछि कच्चा तेलको आपूर्ति र ट्याङ्कर लोडिङ स्थगित गरिएको थियो। निर्यात प्रणाली अवरुद्ध भएपछि काजाकस्तानले उत्पादकलाई भण्डारण सुविधा भरिन नदिन उत्पादन घटाउन निर्देशन दिएको थियो।
रोयटरले उल्लेख गरेको उद्योग तथ्याङ्क अनुसार आइतबार काजाकस्तानको तेल र ग्यास कन्डेन्सेट उत्पादन १३३ हजार २०० मेट्रिक टन (करिब १० लाख ब्यारेल प्रतिदिन) मा झरेको थियो। जुन जुनमा औसत २१ लाख ६० हजार ब्यारेल प्रतिदिनको तुलनामा निकै कम हो। सीपीसीले पाइपलाइन सञ्चालन मस्को समयअनुसार १२:२८ बजे पुनः सुरु भएको पुष्टि गरेको छ। मन्त्रालयले उत्पादन सामान्य स्तरमा फर्कन कति समय लाग्ने बताएको छैन।
१५ सय किलोमिटर लामो सीपीसी पाइपलाइनले काजाकस्तानको विशाल तेन्गिज तेल क्षेत्रबाट दक्षिणी रुस हुँदै कालो सागरको नोभोरोसिस्क बन्दरगाहसम्म कच्चा तेल ढुवानी गर्छ। यसले काजाकस्तानको कुल तेल निर्यातको ८० प्रतिशतभन्दा बढी ढुवानी गर्छ। चेभरन र एक्सनमोबिलजस्ता अन्तर्राष्ट्रिय उत्पादकले यो मार्गमा भर पर्छन्। चेभरनले चार्टर गरेको सुएजम्याक्स ट्याङ्कर ‘एसिया’ पनि सोमबार टर्मिनलमा अवस्थित थियो। चेभरनले सीपीसीको अवस्था अनुगमन गरिरहेको जनाउँदै थप प्रतिक्रिया दिन अस्वीकार गर्यो। यो अवरोधले बजारबाट १० लाख ब्यारेल प्रतिदिनभन्दा बढी काजाकस्तानी उत्पादन हटाएको थियो, जसले कालो सागर र मध्यपूर्वी ढुवानी मार्गमा अवरोधले गर्दा विश्व तेल बजारमा थप आपूर्ति जोखिम थपेको छ।
