साउन १६, काठमाडौं। एक रुपैयाँको सिक्काको अन्तिम डिजाइनबाट लो घेकर गुम्बा हट्ने निश्चितजस्तै भएको छ। नेपाल राष्ट्र बैंकले उपल्लो मुस्ताङको लो घेकर गुम्बा सिक्कामा राख्ने प्रस्ताव गरे पनि मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक सञ्जालमा चर्किएको विरोधलाई मध्यनजर गर्दै डिजाइनमा अब नेपालको नक्सासँगै आकाश भैरवको मूर्ति राखिने भएको छ।
गत असार ३२ मा बसेको मन्त्रिपरिषद् बैठकले एक रुपैयाँको सिक्कामा भएको नेपालको नक्सा हटाउने निर्णय गरेपछि यो विवाद सतहमा आएको हो। नेपाल राष्ट्र बैंकले भने सिक्कामा उपल्लो मुस्ताङको लो घेकर गुम्बा राख्न प्रस्ताव गरेको थियो। यसै प्रस्तावका कारण सामाजिक सञ्जालमा आलोचना बढेको थियो।
संस्कृतिविद् डा. जगमान गुरुङले भने यो प्रस्ताव सकारात्मक भएको बताएका छन्। उनका अनुसार नेपालीका लागि लो घेकर गुम्बालाई सिक्कामा राख्नु गौरवको विषय हो।
डिजाइन प्रक्रिया र कानुनी व्यवस्था
नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले सिक्का तथा नोटको डिजाइन गर्ने अधिकार राष्ट्र बैंकलाई दिएको छ। तर, सिक्काको डिजाइन, आकार वा तौल परिवर्तन गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ। बैंकले स्वीकृतिका लागि प्रस्ताव अघि बढाउनुअघि डिजाइन समितिले डिजाइन तयार पार्ने गर्छ।
नोट तथा सिक्का नियमावलीअनुसार बैंकका गर्भनर अध्यक्ष रहने यो समितिमा दुई डेपुटी गर्भनर, नेपाल प्रज्ञा प्रतिष्ठान र पुरातत्व विभागका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका इतिहासका प्राध्यापक तथा बैंकले तोकेका नोट र सिक्का विशेषज्ञ सदस्य रहन्छन्। सो समितिको सदस्य सचिव बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख हुने व्यवस्था छ।
गुम्बा हटाएर आकाश भैरव
डिजाइन समितिले तयार पारेर मन्त्रिपरिषद्मा पुर्याइएको सिक्काको डिजाइनमा लो घेकर गुम्बा नरहने समितिका सदस्यहरूले बताएका छन्। अन्तिम चरणमा पुगेको डिजाइनमा अब नेपालको नक्सासँगै आकाश भैरवको मूर्ति राखिने भएको हो।
लो घेकर गुम्बा राख्ने प्रस्ताव कसरी आयो भन्ने प्रश्नमा नाम नखुलाउने एक सदस्यले नोटमा हिमाल, लालीगुराँस र विभिन्न जनावरजस्ता प्रकृतिका संरचना मात्रै राखिँदै आएकाले मानिसले आफैंले निर्माण गरेको ऐतिहासिक संरचना पनि राख्नुपर्ने मान्यताका साथ यो गुम्बाको प्रस्ताव आएको बताए। उनका अनुसार १२–१३ सय वर्ष पुरानो यो गुम्बा सिक्कामा राख्न लाग्दा राजनीतिक रङ दिएर अनावश्यक विरोध गरिएको छ।
सोही सदस्यले भने, ‘आफ्नै देशभित्रको पुरातात्विक महत्त्वको संरचना राख्न खोज्दा विरोध आउनु दुर्भाग्यपूर्ण हो। देशभित्रकै गुम्बा सिक्कामा राख्न नसक्ने अवस्था आउनु विडम्बना नै हो।’
लो घेकर गुम्बाको इतिहास र महत्त्व
लो घेकर गुम्बा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित मराङमा अवस्थित छ। यही गुम्बा र दामोदरकुण्डका नामबाट गाउँपालिकाको नाम राखिएको हो। यसलाई घार गुम्बा वा गोम्पा ग्याङ पनि भनिन्छ।
डा. गुरुङका अनुसार ‘लो’ को अर्थ स्थानीय तिब्बती भाषामा मुस्ताङ, ‘घे’ को अर्थ पुण्य र ‘कर’ को अर्थ सेतो हो। यस हिसाबले लो घेकरको अर्थ मुस्ताङको सेतो पुण्य गुम्बा हुन्छ।
यस गुम्बाको निर्माण तिब्बतको साम्ये गुम्बासँग जोडिएको छ। तिब्बतका राजा ठिसोङ दे चनको पालामा बनेको साम्ये गुम्बाको निर्माणकै सिलसिलामा देखिएका बाधा हटाउन लो घेकर गुम्बा बनाइएको जानकारहरू बताउँछन्। ‘द टेस्टामेन्ट अफ बा’ का अनुसार साम्ये गुम्बा सन् ७६७ वा ७७९ मा बनेको थियो भने ‘द ब्लु एनल्स’ ले सन् ७८७ देखि ७९१ को बीचमा बनेको उल्लेख गरेको छ।
तर, डा. गुरुङले आफ्नो पुस्तकमा भने साम्ये गुम्बाभन्दा पहिले नै लो घेकर गुम्बा बनिसकेको दाबी गरेका छन्। उनका अनुसार भोटका राजा ठिसोङ दे चनको समयमा लो घेकर गुम्बा सन् ७५१ मै बनिसकेको थियो।
लोचवा पुण्यप्रसाद पराजुलीले पनि तिब्बतमा साम्ये गुम्बा बनाउँदा देखिएका अवरोध हटाउन लो घेकर गुम्बा बनाइएको बताएका छन्। उनका अनुसार नागका कारण समस्या भएपछि नागहरूलाई नियन्त्रणमा लिन यो गुम्बा बनाइएको धार्मिक ग्रन्थमा उल्लेख छ। लो घेकरलाई गुरु पद्मसम्भवको नेपालभित्रकै महत्त्वपूर्ण तीर्थस्थलका रूपमा पनि लिइन्छ।
पेमा काथाङको सन्दर्भ उल्लेख गर्दै पराजुलीले लो घेकरको निर्माण राक्षसनीको शरीरसँग जोडेर व्याख्या गरेका छन्। उनका अनुसार राक्षसनीको मुटुमा नौ तला गुम्बा, नाभीमाथि स्तुप र शिरमा कालो देउ चाहिने भनी चारै हात–खुट्टामा १०८ स्तुपा बनाएर यो गुम्बा बनाइएको देखिन्छ।
वास्तुकला र जीर्णोद्धार
नारायणप्रसाद क्षेत्रीको ‘मुस्ताङ दिग्दर्शन’ पुस्तकमा पनि यो गुम्बाको निर्माणसम्बन्धी वर्णन छ। उनका अनुसार पद्मसम्भवले दुष्ट राक्षसीको शरीरलाई टुक्र्याएर आन्द्रा पर्ने मूल बाटो घमीमा लामो पर्खालजस्तो गुम्बा बनाएका थिए। मुटुलाई बीचमा राखेर एक सय आठ टुक्रा वरिपरि राखी गुम्बा बनाइएकाले यसलाई घार गुम्बा भनिएको उनको लेखाइ छ।
यस गुम्बाको मूल प्रतिमा पद्मसम्भवकै छ। डा. गुरुङका अनुसार पद्मसम्भवका धार्मिक ग्रन्थ र तान्त्रिक उपकरणहरू गुप्त रूपमा राखिएको यो पहिलो निधितीर्थ हो। लामा बौद्ध धर्ममा मुस्ताङको लो गेकर गुम्बालाई पहिलो निधितीर्थका रूपमा महत्त्व दिइन्छ।
गुम्बाको वास्तुकलाबारे डा. गुरुङले चारवटा छ्योर्तेन र मणिखोर्लोको लहरले परिवेष्टित यो गुम्बाको आफ्नै विशेषता रहेको उल्लेख गरेका छन्।
जीर्णोद्धारका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले वर्षेनि बजेट विनियोजन गर्दै आएको छ। गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो। २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको गुम्बाको मर्मतका लागि अमेरिकी दूतावासमार्फत करिब ३ करोड रुपैयाँ सहयोग प्राप्त भइसकेको छ।
सबैभन्दा पहिले यस गुम्बाको जीर्णोद्धार मुस्ताङी राजा अहं दोनढुव् दोर्जेले गरेको डा. गुरुङ बताउँछन्।
