बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सामाजिक सद्भाव र्याली सम्पन्न भएको छ। देशका विभिन्न भागमा देखिएको तनावका बीच साम्प्रदायिक सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुताको पक्षमा आवाज उठाउँदै सहभागीहरूले र्याली निकालेका थिए।
मकवानपुर जिल्ला प्रशासन कार्यालयको समन्वयमा बसेको सर्वदलीय जिल्ला बैठकको निर्णयअनुसार र्याली आयोजना गरिएको हो। राजनीतिक दलका प्रतिनिधि, व्यापारिक संघसंस्था, नागरिक समाज, सुरक्षा निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
र्याली हुप्चौरबाट सुरु भई मुख्य सडक, स्कूल रोड, बुद्ध चोक र मकवानपुर उद्योग वाणिज्य संघ हुँदै संगम चोकमा पुगेर सभामा परिणत भएको थियो।
सद्भाव र एकताको आग्रह
सभालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए। उनले कसैले पनि कानून आफैं हातमा लिन नहुने, अफवाह र गलत सूचनामा विश्वास नगर्न तथा त्यस्ता सूचना प्रवाह नगर्न आग्रह गरे।
उनले सामाजिक सद्भाव जोगाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए। साथै, सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक वा भड्काउने खालका सामग्री साझा नगर्नसमेत उनले अपिल गरे।
कानूनी कारबाहीको चेतावनी
उनले सार्वजनिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो कोहीलाई पनि कानूनी कारबाही हुने चेतावनी दिए। कुनै पनि शंकास्पद वा गैरकानूनी गतिविधिबारे तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरे।
