कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूका लागि नेपालको प्रवेशद्वारका रूपमा रहेको रसुवागढी नाका सबैभन्दा व्यस्त बनेको छ। गत वर्ष १३ हजार ५२३ तीर्थयात्रीले यो मार्ग प्रयोग गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतले बढी हो।
ल्हेन्दे नदीको बाढीका कारण नेपाल–चीन मैत्री पुल बगाएपछि रसुवागढी नाका सात महिना मात्र सञ्चालन हुन सकेको थियो। तैपनि तीर्थयात्रीको आवागमनमा भने कमी आएको छैन।
हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूका लागि पवित्र मानिने कैलाश मानसरोवर पुग्न तीर्थयात्रीहरूले हुम्ला हुँदै जाने हिल्सा नाकाको तुलनामा रसुवागढी रुट रोज्ने गरेका छन्। हिल्सा मार्ग महँगो पर्ने भएकाले रसुवागढीप्रति आकर्षण बढेको हो।
रसुवागढी हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीमध्ये सबैभन्दा धेरै भारतीय छन्। त्यसपछि नेपाली र चिनियाँ तीर्थयात्रीको संख्या रहेको छ।
