उच्च पहाड तथा हिमाली क्षेत्रमा हुने पदयात्राका लागि दिइने निषेधित क्षेत्रको अनुमति नेपालले अस्थायी रूपमा स्थगन गरेको छ। आउँदो असोज २९ गतेदेखि कात्तिक ३१ गतेसम्म भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको पूर्वानुमानलाई ध्यानमा राखेर यो कदम चालिएको हो।
मंगलबार अध्यागमन विभागले सूचना जारी गर्दै निषेधित क्षेत्रका पदयात्रा अनुमति असोज २८ गतेदेखि नै तोकिएको अवधिभर जारी नगर्ने जनाएको छ। साथै, जोखिमयुक्त क्षेत्रभित्र पहिले नै पुगिसकेका पदयात्रीलाई तीन दिनसम्म सुरक्षित स्थानमा बस्न र उच्च जोखिमको समयमा पदयात्रा नगर्न विभागले आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीपछि विभागले यो निर्णय लिएको जनाएको छ। प्राधिकरणले असोज २९ देखि कात्तिक ३१ गतेसम्म उच्च पहाड तथा हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह गरेको थियो। भारी हिमपात, हिमआँधी र हिमपहिरोको सम्भावना औंल्याउँदै उक्त चेतावनी जारी भएको हो।
विभागको सूचनाअनुसार पदयात्रा कम्पनी, पदयात्री, गाइड तथा सम्बन्धित सरोकारवाला सबैले यो निर्देशनको पालना गर्नुपर्नेछ।







