मुख्य सामग्रीमा जानुहोस्

तल्लो डोल्पामा अनुमति नलिई पदयात्रा गराएको भन्दै ट्राभल एजेन्सीलाई ५० हजार जरिबाना, चार मेक्सिकन नागरिक पनि कारबाहीमा

डोल्पाको तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई प्रवेश गरेका मेक्सिकोका चार नागरिकलाई जनही १० हजार रुपैयाँ जरिबाना गरिएको छ । उनीहरूलाई पदयात्रा गराउने माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई विभागले ५० हजार रुपैयाँ…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
तल्लो डोल्पामा अनुमति नलिई पदयात्रा गराएको भन्दै ट्राभल एजेन्सीलाई ५० हजार जरिबाना, चार मेक्सिकन नागरिक पनि कारबाहीमा
Online Khabar

काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक पदयात्रा अनुमति नलिई विदेशीलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल कम्पनीमाथि जरिबाना लगाउनुका साथै चार विदेशी नागरिकलाई पनि कारबाही गरेको छ ।

विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र मानिने तल्लो डोल्पामा अनुमति नलिई पदयात्रा भएको विषयमा जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पत्र प्राप्त भएपछि आवश्यक छानबिन गरिएको थियो । सो क्रममा प्रचलित कानुनको पालना नगरी विदेशीलाई निषेधित क्षेत्रमा पदयात्रा गराइएको देखिएको विभागले जनाएको छ ।

छानबिनपछि माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई अध्यागमन ऐन २०४९ को दफा १० (४) बमोजिम ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जानकारी दिएको छ ।

त्यस्तै पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गरेका मेक्सिकोका चार नागरिकलाई जनही १० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ । उनीहरूबाट पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुरबापत प्रतिव्यक्ति २० अमेरिकी डलरसमेत असुल गरिएको विभागले उल्लेख गरेको छ ।

अनुमति प्रणाली पालना गर्न आग्रह

निषेधित क्षेत्रमा प्रवेश गर्दा अध्यागमन नियमावली २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेर पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पदयात्रासम्बन्धी कानुनी प्रावधान तथा अनुमति प्रणालीको पूर्ण पालना अनिवार्य रहेको पनि विभागको भनाइ छ ।

विदेशी पर्यटक, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई निषेधित क्षेत्रमा पदयात्रा गराउँदा अनिवार्य रूपमा अनुमति लिन र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न विभागले आग्रह गरेको छ ।