आईएमई समूहले आफ्नै होटल ब्रान्ड ‘इला’ मार्फत देशभर अन्तर्राष्ट्रियस्तरको पर्यटन पूर्वाधार निर्माण र विस्तार गरिरहेको छ । गैंडाकोट, नवलपुरस्थित इला रिसोर्टमा पत्रकारहरूसँगको अन्तर्क्रियामा समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले ब्रान्डअन्तर्गतको सेवा अन्तर्राष्ट्रिय होटल चेनसँग तुलनीय रहने, तर मूल्य करिब आधा पर्ने बताए ।
“हामी अन्तर्राष्ट्रियस्तरको सेवा सुलभ मूल्यमा दिन्छौं,” उनले भने । समूहका अनुसार नेपालमा सञ्चालित बहुराष्ट्रिय होटल ब्रान्डले लिने दरको करिब आधा शुल्कमा ग्राहकले इलाका कोठा तथा सेवा पाउँछन् ।
इला हस्पिटालिटीको होटल सञ्जालमा हाल सञ्चालनमा रहेका र निर्माणाधीन गरी यी सम्पत्ति छन् :
इला रिसोर्ट, गैंडाकोट, नवलपुर — ६५ कोठा
इला कम्फर्ट, हर्कपुर — ३५ कोठा
इला कम्फर्ट, बागलुङ बजार — ३० कोठा
इला लज, कैलाली — सुरुमा २० कोठा, थप ६५ कोठाको योजना
इला रिसोर्ट, बसन्तपुर, पाल्पा — १२० कोठाको रिसोर्ट निर्माणाधीन
द लेकसाइड रिट्रिट, पोखरा — ३५ कोठा, सञ्चालनमा
इला होटल, लाजिम्पाट, काठमाडौं — १०० कोठा, सुरुवातको तयारीमा
चन्द्रागिरी हिल्स रिसोर्ट — १२० कोठा, केही वर्षदेखि सञ्चालनमा
समूहका अधिकांश होटल प्रमुख पर्यटकीय गन्तव्यमा केन्द्रित छन् । केबलकार आयोजनासँगै होटल विकास गर्दै जाने रणनीतिअनुरूप सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार तथा होटल चेन विस्तार गर्ने समूहको योजना छ । यसले नेपाल भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि दोब्बर बनाउन सकिने ढकालको विश्वास छ ।
चन्द्रागिरीको अनुभव देशभर विस्तार गर्ने लक्ष्य
चन्द्रागिरीमा केबलकार, रिसोर्ट, थिम पार्क र मन्दिरसमेतको एकीकृत पर्यटन पूर्वाधार विकास गरेको अनुभवले देशका अन्य भागमा पनि त्यस्तै संरचना बनाउन प्रेरित गरेको अध्यक्ष ढकालले बताए ।
“सातै प्रदेशमा कम्तीमा एक–एक ठाउँमा चन्द्रागिरीजस्तै पूर्वाधार विकास गर्न सके पर्यटकको बसाइ अवधि ठ्याक्कै दोब्बर पार्न सकिन्छ,” उनको भनाइ छ ।
आफ्नै ब्रान्ड किन आवश्यक भन्ने प्रश्नमा उनले समूहसँग रहेको फराकिलो सञ्जाल र स्रोतसाधनतर्फ संकेत गर्दै भने, “हामीसँग यति धेरै सञ्जाल र आवश्यक स्रोत छ, आफ्नै होटल सञ्जाल किन नबनाउने भन्ने सोचले नै इला सुरु गरेका हौं ।” इला हस्पिटालिटी स्वदेशमै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उनले स्पष्ट पारे ।
व्यवसाय विस्तारका लागि समूहले तीन आधारलाई प्राथमिकता दिने गरेको ढकालले जनाए — सरकारको प्राथमिकतासँग तादात्म्य, जनताको माग र दीर्घकालीन व्यावसायिक दिगोपन । निजी क्षेत्रको लगानी परिचालन गरेर नेपालमा ठूला पर्यटन आयोजना सफल बनाउन सकिने उनको विश्वास छ, जसले रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याउँछ ।
केबलकार आयोजनाको प्रगति
समूहले हाल चन्द्रागिरी, मौलाकालिका र लुम्बिनीमा केबलकार सञ्चालन गरिरहेको छ । कैलालीको चिसापानीस्थित जल्पादेवी केबलकार पनि निकट भविष्यमा सञ्चालनमा आउने अपेक्षा छ ।
अन्य आयोजनाको अवस्था यस्तो छ : पथिभरामा निर्माण ६० प्रतिशत सम्पन्न भइसकेको छ । देवघाट र मौलाकालिकालाई जोड्ने नयाँ केबलकार आयोजना अघि बढेको छ भने कास्कीको सिक्लेसमा प्रस्तावित केबलकारको काम क्रमशः अगाडि बढिरहेको छ । यसैगरी कर्णालीको रारामा होटल स्थापनाको तयारी भइरहेको छ र मधेश प्रदेशमा पर्यटन पूर्वाधार विकासको सम्भाव्यता अध्ययन जारी छ ।
आधा मूल्यमा सेवा दिने रणनीति
इला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाका अनुसार कुशल कर्मचारी, आधुनिक सुविधा र कडा सेवा मापदण्डका कारण अन्तर्राष्ट्रिय होटल चेनको तुलनामा करिब ५० प्रतिशत कम मूल्यमा सेवा उपलब्ध हुन्छ ।
कम्पनीले विदेशमा ज्ञान र सीप हासिल गरेर फर्केका पेसाविद् तथा आफैंले तालिम दिएका कर्मचारीमा भर पर्ने गरेको छ । समूहका ३० प्रतिशतभन्दा बढी कर्मचारीसँग विदेशमा काम गरेको अनुभव रहेको ढकालले बताए ।
थापा आफैं अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रमा २० वर्ष काम गरेर नेपाल फर्केका हुन् । यसअघि उनले टाइगर प्यालेस, सीजी हस्पिटालिटी, याक एन्ड यती तथा सिद्धार्थ हस्पिटालिटीजस्ता स्वदेशी हस्पिटालिटी व्यवसायमा अनुभव हासिल गरेका थिए । त्यस अनुभवले नै इलालाई उच्चस्तरको सेवा दिन सहयोग पुगेको र समूहका होटल रहेका रमणीय स्थान पनि ग्राहक आकर्षित गर्ने मुख्य आधार भएको उनको भनाइ छ ।







