मुख्य सामग्रीमा जानुहोस्

कोशी सरकारको नेतृत्वबारे एमालेमा निर्णायक छलफल, ओली–कार्कीबीच एक्लै भेट

कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे एमालेभित्र भइरहेको छलफल टुंगोमा पुग्ने चरणमा छ। अध्यक्ष ओलीले प्रदेश पदाधिकारी र मुख्यमन्त्री कार्कीसँग छुट्टाछुट्टै छलफल गरेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयमा नेकपा (एमाले) भित्र भएको छलफल अन्तिम निष्कर्ष नजिक पुगेको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशीका पदाधिकारीहरूसँग बैठक गरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छुट्टै भेटवार्ता गरेका छन्।

ओलीको गुण्डुस्थित निवासमा भएको बैठकमा घनश्याम खतिवडासहित प्रदेश पदाधिकारीहरूले प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकार गठनको विवादबारे जानकारी गराएका थिए। बैठकमा हालको परिस्थितिअनुसार नेतृत्व परिवर्तन आवश्यक पर्न सक्ने विषय उठेको स्रोतहरू बताउँछन्।

मुख्यमन्त्री को बन्ने ?

बैठक सकिएलगत्तै कार्की ओलीसँग एक्लै भेट्न पुगेका थिए। यस भेटपछि कार्कीले राजीनामा दिने वा नदिने भन्ने विषयमा स्पष्टता आउने अपेक्षा छ।

कोशीमा एमालेकै नेतृत्वको सरकार रहने सहमति कायम रहे पनि मुख्यमन्त्रीको प्रश्नमा पार्टीभित्र मतभेद देखिएको छ। ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई ल्याउन चाहेको चर्चा छ।

सरकार पुनर्गठन अन्योलमै

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा नदिने अडान कायम राखेका छन्, जसका कारण कोशीमा सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्न सकेको छैन। एमाले नेतृत्वले कार्कीसँगको छलफलपछि आवश्यक निर्णय लिने तयारी गरेको बताइएको छ।