मुख्य सामग्रीमा जानुहोस्

अध्यादेशले संसद्बाट बनेको ऐनको व्यवस्था विस्थापित गर्न सक्दैन : सर्वोच्चको व्याख्या

सर्वोच्च अदालतले कार्यपालिकाबाट जारी अध्यादेशले व्यवस्थापिकाबाट पारित स्थायी कानुनलाई सधैंका लागि विस्थापित गर्न नसक्ने व्याख्या गरेको छ। निष्क्रिय अध्यादेशपछि पुरानै कानुनी व्यवस्था जागृत हुने ठहर गर्दै जनस्वराज पार्टी…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं, १९ साउन । सर्वोच्च अदालतले कार्यपालिकाले जारी गरेको अध्यादेश संसद्बाट बनेको स्थायी कानुनको विकल्प हुन नसक्ने र यस्तो अस्थायी प्रकृतिको व्यवस्थाले ऐनका प्रावधानलाई सधैंका लागि हटाउन नसक्ने व्याख्या गरेको छ ।

असामान्य परिस्थितिमा कार्यपालिकाले अध्यादेशमार्फत विधायिकी अधिकार प्रयोग गरे पनि त्यसले संसदीय प्रक्रियाबाट पारित कानुनलाई स्थायी रूपमा विस्थापित गर्न नसक्ने सर्वोच्चको ठहर छ । यही सिद्धान्तका आधारमा तीन न्यायाधीशको पूर्ण इजलासले जनमत पार्टी विभाजित गरेर बनेको जनस्वराज पार्टीको दर्तासम्बन्धी निर्वाचन आयोगको निर्णय खारेज गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र मेघराज पोखरेलको इजलासले २७ कात्तिक २०८२ मा गरेको निर्णयको पूर्णपाठ सार्वजनिक भएसँगै यो व्याख्या बाहिरिएको हो ।

अध्यादेशको संवैधानिक हैसियत

नेपालको संविधानको धारा ११४ ले संसद् अधिवेशन नभएको बेला विशेष परिस्थितिमा अध्यादेश जारी गर्ने अधिकार कार्यपालिकालाई दिएको छ । तर पूर्ण इजलासले यो अधिकार संसदको नियमित कानुन निर्माण शक्तिको समानान्तर वा वैकल्पिक शक्ति नभएको स्पष्ट पारेको छ ।

अध्यादेशको प्रयोगबाट संसद्ले बनाएको कानुनलाई स्थायी रूपमै परिमार्जन वा खारेज गर्न सकिने हो भने व्यवस्थापिकाको अनन्य अधिकार नै खुम्चिने अदालतको भनाइ छ । शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तमा समेत त्यसले आघात पुर्‍याउने व्याख्या गरिएको छ ।

अदालतका अनुसार अध्यादेश भनेको विशेष र आकस्मिक आवश्यकता सम्बोधन गर्ने अस्थायी तथा अपवादात्मक माध्यम मात्र हो । यसले दिने प्रभाव आफ्नो जीवनकालसम्म मात्र सीमित रहन्छ । संसद्को अधिवेशन सुरु भएपछि दुई महिनाभित्र अध्यादेश पारित भएन भने त्यो निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

दल विभाजनको विवाद

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ मा कुनै दलको केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यले छुट्टै दल दर्ता गरेमा नयाँ दलमा जाने सांसद पदमुक्त नहुने व्यवस्था छ । तर विभिन्न समयमा जारी अध्यादेशमार्फत यो प्रावधान फेरबदल गर्ने क्रम चलेको थियो ।

तत्कालीन ओली सरकारले प्रतिस्पर्धी दल फुटाउने गरी अध्यादेश ल्याउँदै दल विभाजनको आधार प्रतिशत बदलेको थियो । पछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउन अध्यादेशमार्फत ४० प्रतिशतको सट्टा २० प्रतिशत पुगे पुग्ने व्यवस्था गरेका थिए । ती अध्यादेश संसद्ले अनुमोदन गरेनन् ।

जनमत पार्टी २०७६ जेठमा डा. सीके राउतको नेतृत्वमा दर्ता भएको थियो । ०७९ को निर्वाचनमा राउत नेतृत्वको पार्टीले प्रतिनिधिसभामा ६, मधेश प्रदेशसभामा १३ र लुम्बिनी प्रदेशसभामा ३ सिट जितेको थियो । जेनजी आन्दोलनपछि पार्टीभित्र मतभेद देखियो र केन्द्रीय समितिका १४ सदस्यले छुट्टै दल बनाउने निर्णय गरे । उनीहरूको निवेदनका आधारमा निर्वाचन आयोगले असोज २०८२ मा जनस्वराज पार्टी दर्ता गर्‍यो । जनमत पार्टी र त्यसका अध्यक्ष डा. सीके राउतले दर्ता अवैध भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

निष्क्रिय अध्यादेशपछि पुरानै कानुन जागृत

सर्वोच्च अदालतको व्याख्याअनुसार संसद्बाट पारित नभएको अध्यादेश निष्क्रिय भएपछि त्यसले कानुनमा गरेको संशोधन पनि समाप्त हुन्छ र पुरानै कानुनी व्यवस्था फर्कन्छ । अध्यादेशले स्थायी ऐनको व्यवस्थालाई केही समयका लागि मात्र ग्रहण लगाउने र त्यो स्वीकृत नभएमा साविक प्रावधान पुनर्जागृत हुने अदालतको निष्कर्ष छ ।

यस्तो अवस्थामा अध्यादेशका आधारमा बनाइएको नियमावली पनि स्वतन्त्र रूपमा कायम रहन नसक्ने सर्वोच्चले भनेको छ । नियमावलीका प्रावधान सधैं मातृ ऐनका जीवित दफासँग एकरूप र सुसंगत हुनुपर्ने व्याख्या गर्दै अदालतले निष्क्रिय अध्यादेशको आधारमा जारी नियमावली प्रयोग गरेर गरिएको जनस्वराज पार्टी दर्ताको सम्पूर्ण कामकारबाही बदर गरेको हो ।

पूर्ण इजलासको व्याख्याअनुसार अध्यादेश कार्यपालिकालाई स्थायी कानुन बनाउने छुट दिने माध्यम होइन । यसलाई स्वेच्छाचारी शक्तिका रूपमा प्रयोग गर्न नपाइने र अध्यादेश निष्क्रिय भएपछि पनि यसले स्थायी प्रभाव पार्छ भनी मान्नु विधिको शासनको दृष्टिले अमान्य हुने अदालतले जनाएको छ ।

यससँगै दल विभाजनका लागि ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने पुरानै व्यवस्था पुनः लागू भएको अदालतको ठहर छ ।