मुख्य सामग्रीमा जानुहोस्

सिन्धुली हुँदै काठमाडौं जोड्ने खोटाङको यातायात सेवा बन्द

खोटाङबाट सिन्धुली हुँदै काठमाडौं आवतजावत गर्ने यातायात सेवा ठप्प भएको छ । दुर्घटनामा बेपत्ता तीन जनाको खोजी जारी छ । पूर्वबाट काठमाडौं जाने सयौं यात्रु प्रभावित भएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सिन्धुली हुँदै खोटाङ–काठमाडौं आवतजावत गर्ने यातायात सेवा बन्द भएको छ । साउन १८ गते सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसले कारलाई ठक्कर दिँदा तीन जना सुनकोसीमा बेपत्ता भएपछि पीडितले सडक अवरुद्ध गरेका कारण व्यवसायीहरूले थप सूचना जारी नभएसम्म सेवा नचलाउने जनाएका छन् ।

पीडित पक्षले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध पारेको छ । यसका कारण पूर्वबाट काठमाडौं आउने–जाने सयौं यात्रु प्रभावित भएका छन् ।

यसरी भयो दुर्घटना

खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कार सडक किनारमा रोकिराखेको बेला काठमाडौंबाट ओखलढुंगातर्फ गइरहेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दियो ।

ठक्करपछि कार सडकबाट करिब ३० मिटर तल खसेर सुनकोसीमा पुगेको थियो । घटनामा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीका गणेश थापा र सुजन बलमपाकी मगर बेपत्ता भएका छन् ।

खोजी जारी, सेवा ठप्प

बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । तर हालसम्म कोही फेला परेको छैन ।

खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले पीडित पक्षले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेकाले सेवा स्थगित गर्नुपरेको बताएका छन् ।