गुल्मीका दुई फरक ठाउँमा बेवारिसे अवस्थाका भरुवा बन्दुक फेला परेका छन्। एउटा स्थानबाट भरुवा बन्दुक मात्रै भेटिएको छ भने अर्को स्थानबाट बन्दुकसँगै बारुद, छर्रा र क्यापसमेत बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
रेसुङ्गामा गोप्य सूचनाका आधारमा बरामद
पहिलो घटना रेसुङ्गा नगरपालिका–२ को धागिथुममा भएको हो। सेतो गुराँस नजिकको सार्वजनिक स्थानमा बेवारिसे बन्दुक रहेको भन्ने गोप्य सूचना मंगलबार साँझ करिब ७:४५ बजे प्रहरीलाई प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दा बनमाराको झाडीभित्र रहेको सेतो प्लास्टिकको बोरामा एक थान बेसाबुत भरुवा बन्दुक भेटाएको हो। बन्दुकलाई कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गुल्मी पुर्याइएको छ।
रुरुक्षेत्रमा गस्तीका क्रममा फेला
दोस्रो घटनामा रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारस्थित मुसीडाँडा क्षेत्रमा मंगलबार दिउँसो बेवारिसे बन्दुकसहित अन्य सामग्री फेला परेको हो। प्रहरी चौकी रुरुबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर विकको कमाण्डमा खटिएको तीन सदस्यीय गस्ती टोलीले नियमित गस्तीको क्रममा पानी ट्यांकी नजिक ती सामग्री देखेपछि बरामद गरेको थियो।
बरामद सामग्रीमा एक थान साबुत भरुवा बन्दुक, करिब १५० ग्राम बारुद, १२ थान छर्रा र १२ थान क्याप छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार उक्त सामग्री हाल प्रहरी चौकी रुरुमा सुरक्षित राखिएको छ।
प्रहरीले दुवै बरामदी घटनाबीचको सम्बन्ध, बन्दुकको स्रोत र कुन उद्देश्यका लागि प्रयोग गर्न लागिएको थियो भन्ने विषयमा विस्तृत अनुसन्धान अघि बढाएको बताएको छ।
