काठमाडौं । 'मिस नेपाल कस्मो २०२६' को उपाधि कशिश सुब्बाले हात पारेकी छन्। शनिबार सम्पन्न प्रतियोगितामा विजयी भएकी उनले आगामी डिसेम्बर २५ मा भियतनाममा हुने अन्तर्राष्ट्रिय मिस कस्मो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन्। २१ वर्षीया कशिश फेसन डिजाइनकी विद्यार्थी हुन्।
हिन्दी भाषाको 'कशिश' शब्दको अर्थ नशा र आकर्षण हो। हिन्दी सिरियलप्रति परिवारको रुचि रहेकाले उनको नाम यस्तो राखिएको थियो। बाल्यकालमा नामको अर्थबारे खासै ध्यान नगए पनि यो उपाधिसँगै उनले आफ्नो नामलाई आकर्षणको केन्द्र बनाएकी छन्।
जितपछि कशिशले आफ्नो सफलतालाई ५० दिनको कडा परिश्रमको प्रतिफल र 'आशा'को रूपमा व्याख्या गरिन्। आफू मिस नेपाल बन्ने कल्पनाभन्दा पहिले नै मेन्टर सोनम सुब्बाले उक्त सम्भावना देखिसकेको उनले बताइन्। मेन्टरले दिनरात खटेर उनका लागि कस्ट्युम तयार पारिदिएको कुरा पनि उनले सम्झिइन्।
फाइनलको रोमाञ्चक क्षण
प्रतियोगिताको अन्तिम चरणमा कशिशको प्रस्तुति उतारचढावपूर्ण देखिएको थियो। प्रश्नोत्तरका क्रममा केही कठिन क्षण आए पनि उनले आफूलाई सम्हाल्दै उत्कृष्ट पुनरागमन गरिन्। विजेताको नाम घोषणा हुँदा उनी खुसीले भावुक बनेकी थिइन्। अन्तिम प्रश्न 'डर र साहस'सँग सम्बन्धित भएको र त्यसले आफूलाई अझ संवेदनशील बनाएको उनले बताइन्। आफूलाई कहिल्यै पूर्ण नठान्ने तर आत्मविश्वास कायम राख्ने उनको स्वभाव छ। आफ्नो कमजोरीबारे सचेत रहेर मनमा लागेको कुरा व्यक्त गर्ने, केहीबेर रोकिए पनि सोचाइ नगुमाउने र बलियो स्वरमा उत्तर दिने प्रयत्न गरेको उनले सुनाइन्।
उपाधिले आफूमाथि ठूलो जिम्मेवारी थपेको कशिशको भनाइ छ। आयोजक पक्ष र मिस कस्मोको टोलीले देखाएको विश्वासलाई सार्थक बनाउँदै ताजको मूल्य बढाउने उनले प्रतिबद्धता जनाएकी छन्। प्रतियोगितामा सहभागी हुन दाइदिदीको प्रोत्साहन निर्णायक रहेको उनले स्मरण गरिन्। धेरैले उमेर कम भएकाले अर्को पटक आउन सुझाव दिए पनि दाइदिदीले यही वर्ष सहभागी हुन हौसला दिएका थिए। आफू पनि यसपटक प्रतियोगिता आउने योजनामा नरहेको तर परिवारको आग्रहपछि हिँडेरै अडिसन दिन पुगेको उनको भनाइ छ। सार्वजनिक रूपमा बोल्न नसक्नु आफ्नो कमजोरी भएको उल्लेख गर्दै उनले आत्मविश्वास र कडा मिहेनतका आधारमा प्रतियोगितामा सहभागी भएको बताइन्। मिस नेपाल भएपछि राम्रो बोल्नुपर्ने र लोकप्रिय हुनुपर्ने सोच रहेका बेला यो उपाधिले आफूलाई सक्छौ भन्ने सन्देश दिएको उनको प्रतिक्रिया छ। भविष्यमा मिस वर्ल्ड वा मिस कस्मो बन्न सकिने सम्भावनाबारे उनले आशा व्यक्त गरेकी छन्।
दिगो फेसन र रोजगारी
फेसन डिजाइनकी विद्यार्थी कशिशले अन्तर्राष्ट्रिय मञ्चमा कपडा उत्पादनका कारण वातावरणमा पर्ने प्रदूषणको मुद्दा उठाउने योजना बनाएकी छन्। मिस कस्मोको ग्रीन समिटमा उनले वातावरण संरक्षण र दिगोपनका विषयमा प्रस्तुति दिने सोच राखेकी छन्। खेर गएका सामग्रीको पुनःप्रयोग गरी आकर्षक र टिकाउ उत्पादन बनाउने काममा कशिश सक्रिय छिन्।
नेपालमा विद्यार्थीलाई पार्ट-टाइम जागिरको उपयुक्त व्यवस्था नभएकाले आफूले उत्पादन बिक्री गरेर आम्दानी हुने रकम विद्यार्थीलाई तलबका रूपमा दिने गरेको उनले बताइन्। हाल दुई विद्यार्थीलाई मासिक १५/१५ हजार रुपैयाँका दरले उनले तलब दिँदै आएकी छन्। वातावरण संरक्षणका साथै युवाले सानो रोजगारीसमेत पाउनुपर्ने उनको मान्यता छ। दिगो फेसनले युवालाई कसरी सहयोग पुर्याउँछ भन्ने देखाउन आफूले प्रयास गरिरहेको कशिशले सुनाइन्। निकट भविष्यमा घरमै बस्ने महिलालाई तालिम दिएर स्वावलम्बी बनाउने योजना पनि उनको छ।
