काठमाडौं, २० साउन । राष्ट्रिय पुरुष तथा महिला टोलीका खेलाडीहरूले नेपाली फुटबल बचाउनुपर्ने भन्दै सामूहिक अपिल गरेका छन् । फिफाको निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण नेपाली फुटबलका गतिविधि ठप्प भएको र खेलाडी, प्रशिक्षक तथा रेफ्रीको भविष्य अन्योलमा परेको भन्दै उनीहरूले छिटो निकासको माग गरेका हुन् ।
नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय टोलीका खेलाडीहरूको सन्देश समेटिएको एउटा भिडियो सार्वजनिक गर्दै यो आवाज उठाएको हो । उक्त भिडियोमा राष्ट्रिय टोलीका अधिकांश खेलाडी सहभागी छन् । रोहित चन्दसहित पुरुष टोलीका खेलाडी र महिला टोलीका सावित्रा भण्डारी, एन्जिला तुम्बापोलगायतका खेलाडीको सन्देश भिडियोमा समावेश छ ।
खेलाडीको अपिल
भिडियोमा खेलाडीहरूले फिफा, एसियाली फुटबल महासंघ (एएफसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारसँग नेपाली फुटबल जोगाउन पहल गरिदिन आग्रह गरेका छन् । फुटबलसँग जोडिएका खेलाडीदेखि प्रशिक्षक र रेफ्रीसम्मका धेरैको करियर नै सकिन लागेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
हाल कतारमा रिह्याब गराइरहेकी महिला टोलीकी कप्तान सावित्रा भण्डारीले शीर्ष डिभिजनको लिग सञ्चालन नहुँदा खेलाडीहरू प्रभावित भएको बताएकी छन् । त्यस्तै सनिश श्रेष्ठले आफूहरूलाई फुटबल खेल्ने अवसर र सपना जोगाइराख्ने मौका चाहिएको उल्लेख गरेका छन् ।
राष्ट्रिय पुरुष टोलीका कप्तान किरण चेम्जोङ भने सामूहिक भिडियोमा देखिएका छैनन् । उनले भने रोहित चन्द र महिला टोलीकी प्रीति राईको सन्देश समावेश गरेर एउटा छुट्टै भिडियो आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन् ।
फिफा निलम्बन र साफ च्याम्पियनसिप
एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २५ जुनमा एन्फालाई निलम्बन गरेको थियो । अर्को सूचना जारी नभएसम्म निलम्बन कायम रहने फिफाले बताएको छ ।
निलम्बनकै कारण नजिकिँदै गरेको साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अन्योलमा परेको छ । बंगलादेशमा नोभेम्बर ४ बाट सुरु हुने प्रतियोगिताको ड्र भइसकेको छ र नेपाल त्यसमा समावेश छैन । तर, फिफाले सेप्टेम्बर १ सम्म निलम्बन फुकुवा गरेमा नेपालले समूह ‘ए’ मा रहेर साफ च्याम्पियनसिप खेल्न पाउनेछ ।
सरकार र संस्थाहरूको प्रयास
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निलम्बन फुकुवाका लागि फिफासँग लगातार सम्पर्क भइरहेको र समस्या समाधानको प्रयास जारी रहेको बताएका छन् । उनले मंगलबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा यस्तो जानकारी दिएका थिए ।
यसैबीच, फुटबलर्स मिसन टुगेदरले नेपाली फुटबलको विवाद समाधान गर्न तदर्थ समिति गठन गर्नुपर्ने भन्दै फिफा अध्यक्षलाई पत्र लेखेको छ । साथै, मध्यस्थताका लागि आफूहरू तयार रहेको पनि उक्त संस्थाले जनाएको छ ।
