केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विभिन्न जिल्लाका स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ब्राउनसुगरजस्तो देखिने पदार्थ, चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्ने औषधि र अवैध गाँजासहितका व्यक्ति छन्।
ब्राउनसुगरजस्तो पदार्थसहित पक्राउ परेका व्यक्ति
रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँबाट ४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित नाम खुल्न बाँकी रहेका एक १८ वर्षीय किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट ९४ मिलिग्रामसहित योगेश पाल र सुवास हमाल पक्राउ परेका छन्।
त्यसैगरी, टीकापुर नगरपालिका–१ खडकचोकबाट ६७० मिलिग्रामसहित मिन रावल, फिदिम नगरपालिका–१ बरडाँडाबाट ४० मिलिग्रामसहित निराजन खतिवडा र बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट ५५० मिलिग्रामसहित निशान्त तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ।
बाँकेको बैजनाथ गाउँपालिका–१ बाट ७३० मिलिग्राम पदार्थ र रु ३६ हजार ९६५ नगदसहित पनि एक १८ वर्षीय किशोर मङ्गलबार नियन्त्रणमा आएका छन्। उनको पनि नाम खुल्न सकेको छैन।
औषधि र गाँजासहित पक्राउ
चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने औषधिसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३, सुर्खेतको सिम्ता गाउँपालिका–६ रामकोट र मोरङको बेलबारी नगरपालिका–१ सिसौलीबाट उनीहरूलाई पक्राउ गरिएको हो।
स्पास्मो २४० ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १५० ट्याब्लेटसहित बीर्खबहादुर नेपाली र कृष्ण लुहार पक्राउ परेका छन्। यस्तै, ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित विकास रौनियार पक्राउ परेका छन्।
यस्तै, चितवनको रत्ननगर नगरपालिका–७ लौखानीबाट ५०० ग्राम अवैध गाँजा र रु १ लाख २९ हजार ५२५ नगदसहित दीपक महतो र उनका छोरा राहुल महतो पक्राउ परेका छन्।
पक्राउ परेका सबैको सन्दर्भमा आवश्यक अनुसन्धान जारी रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
