बलिउड अभिनेत्री करिना कपूरले गत वर्ष जनवरीमा मुम्बईस्थित आफ्नै निवासमा अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको रात आफूले भोगेको भयावह अवस्थाबारे खुलासा गरेकी छन्। रगतले लतपतिएका सैफलाई अस्पताल पुर्याउन उनी राति सडकमा दौडँदै अटो रिक्सा रोक्न भौतारिएकी थिइन्।
हालै प्रसारण भएको ‘कफी विथ करण’को नयाँ एपिसोडमा सैफ र करिनाले त्यो पीडादायी रातबारे खुलेर कुरा गरेका छन्। त्यो घटनापछि आफू महिनौंसम्म ठीकसँग सुत्न नसकेको करिनाले बताइन्। दम्पतीका छोरा तैमुरलाई भने आफ्ना बुबा मर्न लागेको हो कि भन्ने डर लागेको उनको भनाइ छ।
घटनाका बेला घरमा चालक किन थिएनन् भन्ने प्रश्नमा सैफले आफ्नो चालक साँझमै परिवारकहाँ गएकाले त्यतिबेला घरमा नरहेको स्पष्ट पारे। सैफलाई अस्पताल कसरी पुर्याइयो भन्ने जिज्ञासामा करिनाले उनी आफैँ अस्पताल गएको नभई उनका छोरा र हरिले पुर्याएको जानकारी दिइन्।
राति सडकमा दौडिएको क्षण
त्यसपछि करिनाले त्यो रातको दृश्य सम्झिँदै आफू नाइट सर्टमै सडकमा निस्किएको सुनाइन्। पाइजामा फेर्ने समयसमेत नभएको र ‘रुक्नुस्, रुक्नुस्’ भन्दै चिच्याउँदै उनी सडकमा दौडिएको उनले बताइन्। त्यो क्षण फिल्मी दृश्यजस्तै लागेको उनको भनाइ छ। भाग्यवश, कसैले त्यसको भिडियो खिचेनन्। यो प्रसंग आफूले पहिलोपटक सार्वजनिक गरेको करिनाले जनाइन्।
उनका अनुसार घुँडासम्म आउने टी–सर्ट मात्र लगाएकी उनले रगतले लतपतिएका सैफका लागि अटो रिक्सा खोज्दै सडकमा हाराहारी मात्रै गरेकी थिइन्। घटनापछि सामाजिक सञ्जालमा फैलिएका अनौठा हल्लाप्रति करिनाले असन्तुष्टि पनि व्यक्त गरिन्।
रिपोर्टअनुसार आक्रमणकारीले एक करोड भारु माग गरेका थिए र सैफ–करिनाका कान्छा छोरा जेहको कोठामा प्रवेश गरेका थिए। छोरालाई जोगाउने प्रयासमा सैफले आक्रमणकारीको सामना गरेका थिए, जसक्रममा उनीमाथि पटकपटक चक्कु प्रहार भएको थियो।
घटनापछि सैफलाई अटो रिक्सामार्फत लीलावती अस्पताल पुर्याइएको थियो। त्यहाँ उनको करिब छ घण्टा लामो शल्यक्रिया गरिएको थियो।



