शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव अब सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार यससम्बन्धी निर्णय गरेको हो।
यसअघि सोही संशोधन प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो। अर्थ मन्त्रालयबाट प्रस्ताव फिर्ता प्राप्त भएपछि मन्त्रालयले कानुन मन्त्रालयतर्फ अघि बढाउने निर्णय गरेको जनाइएको छ।
शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाले लामो समयदेखि उठाउँदै आएका गुनासोलाई सम्बोधन गर्ने उद्देश्यसहित मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको हो।
सहमति प्रक्रियाका लागि प्रस्ताव अब कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहने छ। सो मन्त्रालयको सहमतिपछि संशोधन प्रक्रियाले थप आकार लिने अपेक्षा गरिएको छ।







