काठमाडौं, २० साउन । विगतमा मधेसको राजनीतिमा एकले अर्कालाई स्वीकार नगर्नेसम्मको कटुता देखाएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पछिल्लो समय एक ठाउँमा उभिन थालेका छन् । दुवै नेताबीचको दूरी घटेसँगै सात दलीय ‘अग्रगामी मोर्चा’ गठनको सहमति भएको छ ।
गत साउन १८ गते सोमबार मोर्चा गठनबारे छलफलमा उनीहरू सँगै देखिएका थिए । जनमत पार्टीका अध्यक्ष राउतका अनुसार साउन २३ गते मोर्चाको औपचारिक घोषणा गरिनेछ । मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।
लामो समयदेखिको वैमनस्य र टकराव
मधेस केन्द्रित दलहरूको नेतृत्व गर्दै आएका यी दुई नेताबीचको कटुता भने पुरानो हो । २०६३ सालको मधेस आन्दोलनबाट उदाएका यादव र २०७९ को निर्वाचनपछि मधेसमा बलियो शक्ति बनेका राउतबीच पहिले सार्वजनिक रूपमै आरोपप्रत्यारोप हुने गर्थ्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा राउतलाई मूलधारको राजनीतिमा ल्याएपछि उनीहरूबीचको शक्ति संघर्ष झन् बढेको मधेस केन्द्रित दलका नेताहरू बताउँछन् ।
यादवले स्वायत्त मधेसको पक्षमा आवाज उठाउँदै आएका थिए भने मूलधारको राजनीतिमा आउनुअघि राउतले स्वतन्त्र मधेसको नारा लगाउँदै आएका थिए । त्यतिबेला राउतले यादवलाई ‘काला नाग’ भन्ने गर्थे भने यादवले राउतलाई आपराधिक प्रवृत्तिको व्यक्तिका रूपमा चित्रण गर्ने गरेका थिए ।
प्रतिनिधिसभाको २०७९ को निर्वाचनमा सप्तरी–२ मा राउतले यादवलाई फराकिलो मतान्तरले पराजित गरे । सो निर्वाचनमा जनमत पार्टीबाट राउत एक्ला प्रत्यक्ष सांसद बनेका थिए भने समानुपातिकतर्फ पाँच जना सांसद निर्वाचित भएका थिए । प्रदेश सभामा जनमतले मधेसमा १३ र लुम्बिनीमा तीन सिट जितेको थियो । विगतदेखि मधेसको राजनीतिमा दबदबा राख्दै आएका यादवलाई हराएपछि राउतको राजनीतिक उचाइ बढेको विश्लेषण गरियो ।
सप्तरी–२ मा पराजित भएपछि यादव बारा–२ को उपचुनावमा होमिए । जसपा नेपालले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएपछि रिक्त भएको सो क्षेत्रमा तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर उनी निर्वाचित भए । जनमत पार्टीले भने सत्ता र शक्तिको आडमा यादवले चुनाव आफ्नो पक्षमा पारेको आरोप लगाएको थियो । उपराष्ट्रपति निर्वाचनमा पनि दुई दलबीच प्रतिस्पर्धा देखिएको थियो; जसपाले रामसहाय यादवलाई उम्मेदवार बनाउँदा जनमतले ममता झालाई उठाएको थियो ।
यी दुई नेताको टकराव मधेस प्रदेश सरकारसम्म पुगेको थियो । २०८० माघमा सप्तरी–२ मा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा विवाद भयो । त्यसबेला मुख्यमन्त्री रहेका जसपाका सरोजकुमार यादव पार्टी अध्यक्ष यादवबाट शिलान्यास गराउन चाहन्थे, तर शिक्षामन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव नेतृत्वको पक्ष सो कुरामा सहमत भएन । शिलान्यासकै दिन जनमतले प्रदर्शन गर्दा प्रहरी हस्तक्षेपमा तत्कालीन मधेश प्रदेश शिक्षामन्त्री महेशप्रसाद यादवसहित केही सांसद र कार्यकर्ता सामान्य घाइते भएका थिए ।
गत निर्वाचनपछि परिवर्तनको सुरुवात
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने दुवै नेता पराजित भए । सप्तरी–२ मा राउत र सप्तरी–३ मा यादवले हार बेहोरे । पराजयको केही दिनपछि राउतले सामाजिक सञ्जालमार्फत अब चुनावी प्रतिस्पर्धा नगर्ने बताएका थिए । मधेस केन्द्रित दलका एक शीर्ष नेताका अनुसार पराजयपछि यी दुईबीच पटक–पटक संवाद भएको छ र पार्टी एकीकरण गर्नेगरी छलफल चलेको छ । ती नेताले यादवले राउतलाई अध्यक्ष बन्ने वचन दिएको बताएका छन् ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले वर्तमान सरकारबाट संघीयता र समावेशिताका उपलब्धिहरू गुम्न सक्ने खतरा रहेकाले मित्रशक्तिहरू मिल्नु स्वाभाविक भएको धारणा राखे । उनका अनुसार सिद्धान्त र विचार मिल्नेहरूसँग अहिले सहकार्य भइरहेको छ; भविष्यमा एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने र पार्टी एकतासम्म पुग्न सकिने सम्भावना छ ।
मोर्चा गठनमाथि प्रश्न र आलोचना
नवगठित मोर्चाले मधेसका जनतालाई प्रभाव नपार्ने जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको दाबी छ । उनले यसलाई ‘स्वार्थीगामी मोर्चा’ भनेका छन् । उनका अनुसार दुवै नेता शून्यमा झरेका छन् र उनीहरूको व्यवहार मिल्दै गएपछि दूरी घटेको हो । विगतमा गठन भएका मधेस केन्द्रित मोर्चाहरू पनि यादव र राउतकै कारण प्रभावकारी हुन सकेका थिएनन् ।
२०८१ चैतमा मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा गठन भए पनि राउतले कुनै व्यक्ति विशेषलाई नेता बनाउने बैठकमा सहभागी नहुने अडान राखेका थिए । यादवले बैठकको अध्यक्षता गर्ने भएपछि राउतले आपत्ति जनाए र अध्यक्षता आलोपालो गर्ने निर्णय गरिएको थियो । मधेस केन्द्रित दलका नेताहरूले पछिल्लो मोर्चा कमजोर हुनुको कारण यी दुई नेताको ‘इगो’को लडाइँ रहेको आरोप लगाउँदै आएका छन् ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले दुई नेताको मिलन मात्रै मधेसी जनताले नचाहेको बताएका छन् । उनका अनुसार मधेस केन्द्रित सबै दल मिलेर नेतृत्वको पुस्तान्तरण हुनुपर्ने मधेसी जनताको चाहना छ ।
यादवसँग नजिकिएसँगै राउत प्रफुल्लित देखिएको छ । विगतमा यादवको आलोचना गर्दै सामाजिक सञ्जालमा धारणा राख्ने राउतले उनकै तस्बिर राख्दै सत्तारुढ रास्वपाप्रति असन्तुष्टि पोखेका छन् । उनले आफू, यादव र रेशम चौधरी संकटपूर्ण राजनीतिबाट यहाँसम्म आइपुगेको भन्दै मधेस आन्दोलन, स्वराज आन्दोलन र थरूहट आन्दोलनको बलिदानलाई सम्मान गर्नुपर्ने बताएका छन् ।
