मुख्य सामग्रीमा जानुहोस्

सांसद राजुनाथ पाण्डेको आँसु पुछिरहेको तस्बिर सेयर गर्दै एमाले सचिव बस्नेतको टिप्पणी

नेकपा एमालेका सचिव महेश बस्नेतले रास्वपा सांसद राजुनाथ पाण्डेको आँसु पुछिरहेको तस्बिर सेयर गर्दै उनको आलोचना गरेका छन्। बस्नेतले अरूलाई पीडा दिँदा कठोर हुने तर आफू आलोचित हुँदा भावुक हुने प्रवृत्ति पाण्डेमा देखिएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेको आँसु पुछिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनको आलोचना गरेका छन्।

पाण्डेको सो तस्बिरसँगै बस्नेतले अरूलाई पीडा दिँदा कठोर देखिने तर आफू आलोचित हुँदा भावुक हुने प्रवृत्ति पाण्डेमा देखिएको बताएका छन्।

बस्नेतको टिप्पणी

बस्नेतले विगतमा हजारौं गरिब तथा सुकुम्बासीलाई घरबारविहीन बनाई उनीहरूको आँखाबाट आँसु झार्न बाध्य पार्नेहरूले आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्ने गरेको स्मरण गराए। तर आफूमाथि सामान्य प्रश्न उठ्नेबित्तिकै ती व्यक्ति भक्कानिएर आँसु झार्दै भावुकताको नाटक गर्न पुगेको उनले आरोप लगाएका छन्।

उनले बालेनको आडमा नाम बेच्दै आफूलाई अब्बल शासक ठान्ने प्रवृत्तिलाई दोहोरो चरित्रको संज्ञा दिए। सजाय दिनुपर्ने ठाउँमा पुरस्कार दिएर जिताइएका नक्कली पात्रहरूको गोहीका आँसुलाई समाजले बेलैमा नबुझे झन् ठूलो दुःख भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि उनले दिएका छन्।

जनताले व्यक्तिको अभिनय, भावुकता र नाटक नभई उसको काम, क्षमता र जनताप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने बस्नेतको भनाइ छ। शासनको असली परीक्षा आँसु बगाउने क्षमताले नभई जनताको आँसु पुछ्ने क्षमताले हुने उनले उल्लेख गरेका छन्।

भाइरल भिडियोको पृष्ठभूमि

गोकर्णेश्वर क्षेत्रमा रहेको नेपाल ट्रस्टको जग्गामा अवस्थित सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयमा सांसद पाण्डे र खटिएका सैनिक अधिकारीबीच भनाभन भएको थियो। सोही भनाभनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

माकलबारीबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका क्रममा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद पाण्डेसहितका जनप्रतिनिधिहरू डोजर लिएर पुगेका थिए।