पिज्जामा भुइँकटहर राख्न ग्राहकको अर्डर अस्वीकार गरेका एक इटालियन सेफले अस्ट्रेलियामा आफ्नो जागिर गुमाएका छन् । ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले कामबाट हटाएको हो । सो रेस्टुरेन्ट अहिले बन्द अवस्थामा छ ।
रेस्टुरेन्ट व्यवस्थापनले ताम्बुरेलाको कामकारबाही र व्यवहारबारे विभिन्न गुनासा प्राप्त भएको भन्दै छलफलका लागि बैठक बोलाएको थियो । सो बैठक बसेको करिब दुई सप्ताहपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । व्यवस्थापनका गुनासोमध्ये मुख्य गुनासो ग्राहकका लागि आयोजित एक कार्यक्रममा ह्याम र भुइँकटहर हालेको पिज्जा पकाउन उनले इन्कार गरेको विषय थियो । आफूले पाएको निर्देशन आफ्नो संस्कृतिको अपमान हुने खालको भएकाले त्यसलाई पालना गर्नु नपर्ने उनको भनाइ थियो ।
जागिरबाट हटाइएपछि ताम्बुरेलाले आफूलाई अन्यायपूर्ण ढंगले कामबाट निकालिएको भन्दै अस्ट्रेलियाको फेयर वर्क कमिसनमा उजुरी दर्ता गराएका थिए । आयोगले मंगलबार सार्वजनिक गरेको निर्णयमा उनले इटालियन भएकै कारण पिज्जामा भुइँकटहर राख्ने कुरालाई आफ्नो संस्कृतिमाथिको अपमानका रूपमा लिएको उल्लेख गरिएको छ ।
आयोगका अनुसार विगत चार वर्षमा उनले तेस्रो पटक पिज्जामा भुइँकटहर प्रयोग गर्न इन्कार गरेका थिए । यसअघि पनि उनले पिज्जामा भुइँकटहर नराख्ने विषय इटालियनहरूका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा आफ्ना हाकिमलाई बुझाउन खोजेका थिए ।
भुइँकटहर उत्पादनको केन्द्र
रोचक पक्ष के हो भने रेस्टुरेन्ट रहेको अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यलाई देशको भुइँकटहर उत्पादनको केन्द्र मानिन्छ । अस्ट्रेलियामा व्यावसायिक रूपमा उत्पादन हुने सम्पूर्ण भुइँकटहर यही राज्यमा फल्छ ।
क्विन्सल्यान्डको सनसाइन कोस्ट क्षेत्रमा रहेको १६ मिटर अग्लो ‘द बिग पाइनएपल’ पनि पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भुइँकटहरको आकारमा निर्माण गरिएको फाइबर ग्लासको यो विशाल संरचना सम्पदा सूचीमा समेत परेको छ । त्यहाँ पुग्ने पर्यटक उक्त संरचनासँग तस्बिर खिचाउन नियमित पुग्ने गर्छन् ।
इटालियन पिज्जा परम्परा
पिज्जाको जन्म इटालीमा भएको मानिन्छ । परम्परागत इटालियन पिज्जामा टमाटरको सस, चिज, तुलसी, जैतुनको तेल, मासुलगायत स्थानीय सामग्री प्रयोग गर्ने चलन छ ।
तर पिज्जामा भुइँकटहर र ह्याम राख्ने परिपाटी भने इटालीबाट सुरु भएको होइन । सन् १९६२ मा क्यानडाका एक रेस्टुरेन्ट सञ्चालकले हवाईयन पिज्जा बनाएको बताइन्छ, जुन पछि विश्वभर लोकप्रिय भयो ।
केही इटालियनहरू पिज्जामा भुइँकटहर राख्नुलाई आफ्नो परम्परागत परिकारको मौलिकताविपरीत मान्छन् । तर सबै इटालियनले यसलाई संस्कृतिमाथिको अपमान ठान्छन् भन्ने भने होइन । ती सेफले पनि भुइँकटहरलाई आफ्नो संस्कृतिमाथिको अपमान भने पनि त्यो इटालीको कुनै औपचारिक सांस्कृतिक नियम होइन । उनको व्यक्तिगत मान्यता र परम्परागत इटालियन खानाप्रतिको दृष्टिकोण मात्र हो ।
बीबीसीको सहयोगमा







