मुख्य सामग्रीमा जानुहोस्

लोपोन्मुख बन्दै परम्परागत ‘फेरी’ पेसा, भोजपुरका अर्जुन दुई दशकदेखि निरन्तर

पुर्खौँदेखि चलिआएको फेरी लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । एक समय १८–२० घरपरिवारले गर्ने यो पेसा अहिले याङपाङमा दुई जनामा सीमित भएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
लोपोन्मुख बन्दै परम्परागत ‘फेरी’ पेसा, भोजपुरका अर्जुन दुई दशकदेखि निरन्तर
Online Khabar

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी अर्जुन जोगीले पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा अँगालेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशसँगै परम्परागत पेसाप्रति आकर्षण घट्दै गए पनि उनले विगत दुई दशकदेखि यही कामलाई निरन्तरता दिइरहेका छन् ।

कात्तिक, चैत र साउन महिनामा उनी गाउँघर घुम्ने गर्छन् र रातको समयमा फेरी लगाउँछन् । एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै उनी गाउँबस्ती डुल्ने गरेको बताउँछन् । परम्परागत विधिअनुसार मन्त्रसहित घरघरमा पुगेर फेरी लगाउने प्रचलन रहेको छ ।

फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास स्थानीयवासीमा रहँदै आएको छ । त्यसैले यसलाई उनीहरूले धार्मिक आस्था र सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन् ।

फेरी लगाउन आउने जोगीलाई स्थानीयवासीले आफ्नो गच्छेअनुसार चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने परम्परा छ । यसले फेरी लगाउने जोगीको जीविकोपार्जनमा टेवा पुग्ने गरेको छ भने गाउँघरको परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि जीवित रहँदै आएको छ ।

दुई जनामा सीमित पेसा

स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको यो पेसा विगतमा धेरैले अपनाउने गरेका थिए । याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने काम गर्दै आएका भए पनि अहिले घटेर दुई जनामा सीमित भएको जोगी बताउँछन् ।

पुर्खौँदेखि चलिआएको यो पेसाको संरक्षण गर्दै स्थानीय मौलिक संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आफूले निरन्तरता दिइरहेको उनको भनाइ छ । समयक्रमसँगै नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै जाँदा फेरी लगाउने चलन सङ्कटमा पर्दै गएको छ । पहिले गाउँघरमा व्यापक रूपमा प्रचलनमा रहेको यो परम्परा अहिले सीमित व्यक्तिले मात्र धानेका छन् ।

परम्परागत पेसा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको जोगीको भनाइ छ ।