मुख्य सामग्रीमा जानुहोस्

तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृह बन्ने क्रम अन्तिम चरणमा, प्याकेज–२ को ८० प्रतिशत काम सकियो

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङलगायत संरचना निर्माण र उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको छ । चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यो प्याकेज सकिएपछि विद्युत् उत्पादन…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृह बन्ने क्रम अन्तिम चरणमा, प्याकेज–२ को ८० प्रतिशत काम सकियो
Online Khabar

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहित प्रमुख संरचना बनाउने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ मा समेटिएको विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको प्रगति करिब ८० प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

यो प्याकेज चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि गरिने उत्खननको काम सकिइसकेको छ भने धेरैजसो संरचनाको सिभिल निर्माण सम्पन्न भएको छ ।

मुख्य सुरुङको लाइनिङ अन्तिम चरणमा

भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङजस्ता मुख्य संरचनामा उत्खनन र कङ्क्रिटिङको काम झन्डै सकिएको छ । मुख्य सुरुङमा कङ्क्रिट लाइनिङ गर्ने काम पनि अन्तिम चरणमा रहेको आयोजना प्रमुख भण्डारीले बताए ।

सिभिल संरचना बन्दै गर्दा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम पनि समानान्तर रूपमा अघि बढाइएको छ । भूमिगत विद्युतगृहमा जेनेरेटर, टर्बाइन, सिसीटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण राख्ने र परीक्षण गर्ने क्रम जारी रहेको उनले जानकारी दिए ।

यसैगरी वातावरणीय बहावका लागि बनाइने विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ । भूमिगत विद्युतगृह तथा सुरुङका अधिकांश सिभिल संरचना तयार हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई पनि सँगसँगै अघि बढाइएको आयोजनाले उल्लेख गरेको छ ।

प्याकेज–२ अन्तर्गतका संरचना र उपकरणको काम पूरा भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार हुनेछ ।