झापा टोस्टमास्टर्स क्लबको प्रमुख वार्षिक कार्यक्रम ‘सिम्फनी ५.०’ होटल द किङ्सबरीमा आयोजना भएको छ। झापा, इटहरी, धरान, काठमाडौं र सिलिगुडीबाट पुगेका सहभागीहरूबीच वक्तृत्वकला, नेतृत्व र व्यक्तिगत विकासका विषयमा साझा अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा पुराना र नयाँ टोस्टमास्टरहरूबीच चिनजान, हाँसो र साझेदारीको माहोल रहेको थियो। कतिपयका लागि यो परिवारमा फर्किने क्षण बनेको थियो भने कतिपयका लागि प्रेरणादायी यात्राको सुरुवात।
‘मेरो किन’ खोज्दै
कार्यक्रमको मुख्य सम्बोधन डिस्ट्रिक्ट २२५ की इमिडिएट पास्ट डिस्ट्रिक्ट डाइरेक्टर तथा डिस्टिङ्ग्विश्ड टोस्टमास्टर अभा ओहरीले गरेकी थिइन्। ‘माई व्हाई’ शीर्षकको सम्बोधनमा उनले चम्किलो भाषणभन्दा आफ्नो संघर्ष र परिवर्तनको कथा साझा गरिन्।
आफूलाई ‘बडी मालकिन’ भनेर सम्झने गरेको सुनाउँदै उनले एक्लै यात्रा गर्न नसक्ने र बोर्डिङ पासका लागि काउन्टरसम्म पनि पुग्न नसक्ने अवस्थामा आफू रहेको स्मरण गरिन्। करिब २० जना घरायसी कर्मचारीको सहयोगमा चल्ने विशाल घरभित्रै संसार सीमित रहेको उनको भनाइ थियो।
“मैले आफूलाई सबै थाहा भएको ठानेकी थिएँ,” उनले भनिन्, “तर सिलिगुडीको फ्र्याङ्कलिन इन्स्टिच्युटमा जागिर सुरु गरेपछि मैले आफ्नो सीमित दायराभन्दा बाहिरको संसार देखें।” टोस्टमास्टर्सको माध्यमबाट आफूले एक्लै यात्रा गर्ने, धाराप्रवाह बोल्ने र बहामास, फिलाडेल्फिया तथा अमेरिकाका अन्य सहरसम्म पुग्ने आत्मविश्वास पाएको उनले बताइन्।
उनको प्रस्तुतिमा हाँसो, ताली र कतिपय क्षणमा गहिरो सोचाइ झल्किएको थियो। आत्मविश्वास जन्मजात गुण नभई साहस, अभ्यास र पहिलो कदम चाल्ने इच्छाबाट विकसित हुने सीप भएको सन्देश उनले दिइन्।
एकता बंसलको विदाई र नयाँ नेतृत्व
इमिडिएट पास्ट प्रेसिडेन्ट एकता बंसलले आफ्नो कार्यकाल सकिँदै गर्दा अनुभवहरू स्मरण गरिन्। पहिलो टोस्टमास्टर्स बैठकमा प्रवेश गर्न हिचकिचाएकी उनी छ महिनाभित्र कार्यकारिणी समितिमा पुगेकी थिइन्। ‘सिम्फनी’ को पहिलो संस्करणमै उनी टोस्टमास्टर्समा भित्रिएकी थिइन् र चौथो संस्करणको कार्यक्रमका बेला क्लब अध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
“चार वर्षमा यो क्लबले मलाई बढ्न, नेतृत्व गर्न र प्रेरित गर्न सहयोग गर्यो। सिम्फनी ५.० मेरो मात्र होइन, यो सुन्दर यात्राका हरेक सदस्यको उत्सव हो,” उनले भनिन्।
त्यसपछि डिभिजन सी निर्देशक सन्ध्या राथीले सन् २०२६–२७ का लागि नयाँ कार्यसमिति गठन गरिन्। झापा टोस्टमास्टर्स क्लबको नयाँ अध्यक्षका रूपमा जान्वी खेडियाले जिम्मेवारी सम्हालेकी छन्।
“झापा टीएमसीका जेम्स बन्ने महत्त्वाकांक्षा राख्नुहोस्,” खेडियाले भनिन्। आत्मविश्वासका साथ हरेक सदस्य अगाडि बढ्ने, नेतृत्वको अनुभूति गर्ने, उदारतापूर्वक अरूलाई मार्गदर्शन गर्ने र उद्देश्यपूर्ण सेवा दिने वातावरण बनाउने प्रतिबद्धता उनले जनाइन्।
नयाँ सदस्य र अवार्ड
एरिया डाइरेक्टर सी–४ अन्जु प्रधानले चार नयाँ सदस्यलाई टोस्टमास्टर्स परिवारमा प्रवेश गराइन्। काठमाडौंबाट कार्यक्रममा सहभागी हुन आएका एरिया डाइरेक्टर सी–३ अंकुश अधिकारीले झापा टोस्टमास्टर्सका लागि आफू मेन्टर, मित्र र मार्गदर्शकका रूपमा सधैं साथमा रहने विश्वास दिलाए।
सो अवसरमा ‘झापा टोस्टमास्टर्स अवार्ड’ प्रदान गरियो, जसलाई ‘झापाको ओस्कार’ भनिन्छ। टोस्टमास्टर अफ द इयरदेखि मिटिङ एनर्जी बुस्टरसम्म १३ विधामा सदस्यहरूलाई सम्मान गरियो। प्रत्येक अवार्ड महिनौंको मेहनत, साहस र विकासको स्मारकका रूपमा रहेको बताइयो।
अन्त्यमा, आगामी वर्ष पुनः भेट्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो। टोस्टमास्टर्स सार्वजनिक बोलाइको मात्र मञ्च नभई सम्बन्ध निर्माण गर्ने, अपरिचितलाई मित्र र मित्रलाई परिवारमा बदल्ने माध्यम बनेको सन्देश कार्यक्रमले दियो।
