मानव बस्ती र वरपर बाघ तथा चितुवाको विचरण बढ्दै गएपछि डिभिजन वन कार्यालय चितवनले क्यामेरा र खोरको व्यवस्था गरेर ती जनावरको निगरानी थालेको छ। कार्यालयका अनुसार बस्तीमा प्रवेश गर्ने बाघ र चितुवालाई नियन्त्रणमा लिन क्यामेरा राख्ने र खोर राख्ने काम भइरहेको छ।
वन अधिकृत सुदीप हमालले भरतपुर महानगरपालिका–१५ स्थित अविनास पोल्ट्री परिसरमा क्यामेरासहित खोर राखिएको बताए। त्यसैगरी नजिकैको बाँसझ्याङ क्षेत्रमा अर्को क्यामेरा जडान गरिएको छ।
खोरमा परेको चितुवाको बच्चा उद्धार
पोल्ट्री परिसरमा राखिएको खोरमा चितुवाको बच्चा परेपछि उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ। डिभिजन वन कार्यालयका अनुसार बच्चा खोरमा परेपछि क्यामेरा निगरानीमा माउ चितुवा र अर्को बच्चा खोर बाहिर बसेको देखिएको थियो। उक्त स्थानको झाडी फाँडेपछि माउ र अर्को बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसर क्षेत्रतर्फ गएको हुनसक्ने अनुमान कार्यालयले गरेको छ।
यसैबीच, विश्वविद्यालय परिसरमा पनि खोर र क्यामेराको व्यवस्थापन गरी नियमित अनुगमन भइरहेको बताइएको छ।
आँपटारीमा बाघ देखिएपछि क्यामेरा जडान
भरतपुर महानगरपालिका–११ स्थित आँपटारीमा रहेको विद्युत् स्टेसन क्षेत्रमा केही दिनअघि बाघ देखिएको भन्दै कर्मचारीले जानकारी दिएका थिए। त्यसपछि सो क्षेत्रमा क्यामेरा जडान गरिएको छ। बाघले स्थानीयको बाख्रा समेत खाएको थियो।
बाख्रा खाएको सूचनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकाय र वन कार्यालयका कर्मचारीको टोलीले स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि सो क्षेत्रको प्रवेशद्वार र भित्र पनि क्यामेरा जडान गरिएको छ। कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले तीनवटै स्थानमा क्यामेरा जडान र खोर राख्ने काम सम्पन्न भएको बताए।
जुन क्षेत्रमा खोर राखिएको छ, त्यहाँ बाघ वा चितुवा परेमा तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ।
बस्ती नजिक आउनुका कारण
शारीरिक रूपमा कमजोर चितुवा र बाघले बच्चा हुर्काउने समयमा जंगल बाहिर निस्कने विज्ञहरू बताउँछन्। जंगलभित्र अन्य जनावरले बच्चालाई आक्रमण गर्न सक्ने भयले उनीहरू बस्ती नजिक आएको हुनसक्ने अनुमान छ। जंगलभित्र सिकार गर्न कठिनाइ भएपछि बस्तीनजिक आएर घरपालुवा जनावरको सिकार गर्ने घटना पनि भेटिएका छन्।




