काठमाडौं, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिकामा पनि पहिरो गएको छ । गाउँपालिका–२ का दुई अलग–अलग स्थानमा पहिरो जाँदा दुई घर पुरिएका हुन् ।
दुई घर पुरिए
सुनछहरी गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले वडा–२ का बेग्लाबेग्लै दुई स्थानमा पहिरोले दुई घर पुरेको जानकारी दिएकी छन् । पहिरोको चपेटामा परेर ती दुवै घर पुरिएको उनले बताएकी छन् ।
उद्धार टोली परिचालन
जिल्ला प्रहरी कार्यालय रोल्पाले दुई ठाउँमा घर पुरिएको सूचना पाएको र सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको जनाएको छ ।
तर, घटनास्थलमा उद्धार टोली पुग्न बाँकी रहेकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन । के–कति क्षति भयो भन्नेबारे विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार रोल्पाकै थवाङ गाउँपालिका–५ स्थित कोटलबारमा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो । सोही घटनामा तीन जना अझै बेपत्ता छन् ।


