काठमाडौं, २९ साउन । वैशाखयता देशभर भएका विपद्का घटनामा परी २१५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चार हजार छ सय आठ विपद्का घटना भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार ती घटनामा १५ जना बेपत्ता भएका छन् भने एक हजार चार सय २२ जना घाइते भएका छन् । विपद्बाट पाँच हजार छ सय ३८ परिवार प्रभावित भएका छन् ।
पछिल्लो चार महिनामा आगलागी, सर्पदंश, पहिरो र हावाहुरीका घटनाबाट बढी क्षति भएको प्राधिकरणले जनाएको छ ।
आगलागी र सर्पदंशमा धेरै घटना
यो अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । एक हजार ९० आगलागीका घटनामा २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।
यस्तै, सर्पदंशका ८९२ घटना भएका छन् । सर्पदंशबाट ६३ जनाको मृत्यु र ८३७ जना घाइते भएका छन् ।
पहिरो, बाढी, हावाहुरी र चट्याङ
प्राधिकरणको तथ्यांकअनुसार सो अवधिमा ८६२ पहिरोका घटना भएका छन्, जसमा २४ जनाको मृत्यु, ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन् । बाढीसम्बन्धी २३७ घटनामा १८ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र १३ जना घाइते भएका छन् । भारी वर्षका कारण चार जनाको मृत्यु भएको तथ्यांक छ ।
त्यस्तै, हावाहुरीका ४८० घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् । चट्याङसम्बन्धी २३६ घटनामा २५ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।
जनावर आक्रमणका २५७ घटना भएका छन् । यी घटनामा १८ जनाको मृत्यु र १३६ जना घाइते भएका छन् ।






