सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ४३ वर्षपछि पक्राउ गरेको छ। अदालतको फैसलापछि पनि लामो समयदेखि फरार रहेका ती प्रतिवादी लक्ष्मीपुर पतारी गाउँपालिका–५ का करिब ८० वर्षीय ठकाई यादव हुन्।
उनी भने त्यहीँ गाउँमा साधुबाबाको रूपमा लुकेर बसिरहेका थिए। लक्ष्मीपुर पतारी–५ स्थित एउटा शिव मन्दिरमा उनी रहेको सूचनाका आधारमा प्रहरीले खोजतलास थालेको थियो।
मन्दिरबाट कसरी पक्राउ परे ?
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीले प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा टोली परिचालन गरेको थियो। सो टोलीले २८ साउनमा सोही शिव मन्दिरबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पक्राउ परेका यादवलाई फैसला कार्यान्वयन तथा आवश्यक कानुनी कारबाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको छ।
२०४१ सालको घटना
प्रहरी अभिलेखका अनुसार १ वैशाख २०४१ मा वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। यादवसहितको समूहले योजनाबद्ध रूपमा भारतबाट पहलवानसमेत बोलाएको थियो।
विवाद चर्किएपछि साविक खरुक्याही गाविस–४ का रजिन्द्र यादवलाई घेरेर कुटपिट गरिएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनको मृत्यु भयो। यस घटनामा ठकाई यादवसमेत संलग्न रहेको प्रहरी अभिलेखमा उल्लेख छ।
सोही मुद्दामा दोषी ठहर भएका यादवलाई १५ पुस २०४६ मा उच्च अदालतको फैसलाले एक वर्ष कैद सजाय तोकेको थियो। सजाय भुक्तान नगरी उनी ४३ वर्षसम्म फरार रहेका थिए।






