सगरमाथाको आरोहण, त्यससँग जोडिएको जोखिम, रहस्य र जलवायु परिवर्तनका कारण हिमाली भेगमा आइरहेको परिवर्तनलाई देखाउने वृत्तचित्र ‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा समुद्री सतहदेखि विश्वकै सर्वोच्च शिखरसम्म पुग्ने यात्राका दृश्यलाई समेटिएको छ। मानवीय साहस, संघर्ष र दृढ संकल्पलाई प्रस्तुत गर्ने गरी ट्रेलर निर्माण गरिएको हो।
निर्माण पक्षका अनुसार यो वृत्तचित्रमा नितान्त नेपाली प्राविधिकहरूको संलग्नता छ। तस्बिरलाई कृत्रिम बनाउने वा कम्प्युटरबाट दृश्य तयार गर्ने प्रविधिको प्रयोग गरिएको छैन। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई क्यामेरामा कैद गरिएको र त्यसमा आधारित पहिलो वृत्तचित्र हुन सक्ने दाबी निर्माण पक्षको छ।
दुई वर्षको अनुसन्धानपछि तयार
वृत्तचित्र दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको हो। यसको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् भने भूषण दाहालले न्यारेसन गरेका छन्। नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको वृत्तचित्रमा ५० वर्ष पार गरेका राज गुरुङको प्रेरणादायी यात्रा देखाइएको छ। निर्मलको निर्देशनमा तयार वृत्तचित्रले सगरमाथाको भव्यतासँगै आरोहणका जोखिम, शेर्पा समुदायको योगदान र बदलिँदो हिमाली वातावरणलाई पनि देखाउने प्रयास गरेको छ।
राज गुरुङले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याइरहेका छन्। उनको यात्रा केवल आरोहणको कथा नभई सपना, संघर्ष, आत्मविश्वास र इच्छाशक्तिको कथा भएको निर्माण पक्षको भनाइ छ। सगरमाथालाई साहस, संघर्ष र मानवीय क्षमताको प्रतीकका रूपमा पनि प्रस्तुत गर्ने प्रयास वृत्तचित्रमा गरिएको छ।
कीर्तिमानी आरोही र प्रिमियर
वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन्। फुर्वाले अहिलेसम्म १८ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। निमाले सगरमाथाको १० पटक आरोहण गरेका छन् र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका छन्। विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ भने सहयात्रीका रूपमा देखिनेछन्।
निर्माण पक्षका अनुसार वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा हुनेछ। अन्तर्राष्ट्रिय प्रिमियर भने भदौ २८ गते हङकङमा आयोजना गरिने भएको छ। यसपछि वृत्तचित्रलाई नेपालका विभिन्न स्थान, अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल र सिनेमा हलमा प्रदर्शन गर्ने तयारी छ।
निर्माण र उद्देश्य
सामाजिक संस्था वि विल राइज फाउण्डेसनले यो वृत्तचित्र निर्माण गरेको हो। दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान खिच्नु यसको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ। ५० मिनेट लामो यो वृत्तचित्रको अवधि रहेको छ।

