मुख्य सामग्रीमा जानुहोस्

'भ्वाइस किड्स' सिजन ५ को उपाधि सुवासना खड्कालाई

टिभी रियालिटी शो 'भ्वाइस किड्स' सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । ग्रान्ड फिनालेमा आठ प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाएकी छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाकी प्रतियोगी सुवासना विजयी भएकी हुन् ।

उपाधि जितेपछि आफूले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने सोचेको सुवासनाले बताइन् । शोमा पहिलोपटक कोच बनेका वाङ्देनले भने जितले आफूलाई सपनाजस्तो महसुस गराएको बताए ।

उनले भने, ‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ । यो जित सुवासनाको हो । जसले भोट गर्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले पुरस्कार वितरण गरेका थिए ।

उपाधिसँगै सुवासना खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना र क्रिएसन रोकाले प्रतिस्पर्धा गरेका थिए ।

यसपछि दर्शकमाझ ‘भ्वाइस अफ नेपाल’ सिजन ८ ल्याउने तयारी रहेको जानकारी होस्ट सुशील नेपालले गराएका थिए ।