भारु ४ हजार करोडको लागतमा तयार भएको फिल्म ‘रामायण’ को कथा रामबाट सुरु हुँदैन, रावणबाट सुरु हुन्छ । नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्म वास्तवमा रावणको अहंकार र रामको विनम्रताबीचको लडाइँ तथा असत्य र सत्यको द्वन्द्वका रूपमा अगाडि बढ्ने गरी बनाइएको छ ।
फिल्मको सुरुमा रावणलाई योद्धाका रूपमा नभई संगीत साधकका रूपमा देखाइएको छ — वीणाको धुनमा मग्न, शान्त, स्निग्ध र अध्ययनशील । तर उनको वरपरको संसार भने अँध्यारो थियो । जमिनको सतहभन्दा तल बस्ने असुरहरूको जीवनमा भोक, अभाव, रोग र पीडा मात्र थियो ।
आफ्ना सन्तान किन यस्तो जीवन बाँच्न बाध्य छन् भन्ने रहस्य किशोर दशाननलाई आमाले खोलेपछि उनले त्यसको जड देवलोकमा बस्ने इन्द्र रहेको बुझ्छन्, जसले असुरहरूलाई पराजित गरी यस्तो अवस्थामा पुर्याएका थिए । त्यसपछि वीणाको धुन छाडेर उनी कठोर तपस्यामा लाग्छन् र तप, ध्यान तथा साधनाको बलमा सुमधुर व्यक्तित्वबाट अजेय योद्धामा रूपान्तरण हुन्छन् ।
घनघोर वर्षा भइरहेको एक साँझ उनी लंकाको दरबारअगाडि पुग्छन्, विशाल ढोका एकै लातमा तोड्छन् र सयौँ सुरक्षाकर्मीलाई परास्त गर्दै सत्तासीनहरूलाई पन्छाएर लंकाको स्वर्ण सिंहासनमा आफ्नो हक जमाउँछन् । सिंहासनमा बसेर उनले आफ्ना असुर जनतालाई अब कसैले भोकभोकै वा नाङ्गै बस्नु नपर्ने र दरबारमा जे पाक्छ हरेकको भान्सामा त्यही पस्किने वाचा गर्छन् ।
यो बिन्दुसम्म रावण गुण्डा होइनन्, अजेय क्षमताका कारण उनी सुपरहिरोजस्तै देखिन्छन् । संसार जित्न सक्ने उनी आफैँभित्रको अहंकार भने जित्न सक्दैनन् र यही एउटै कमजोरीले उनलाई इतिहासमा कलंकित बनाइदिन्छ ।
जटायुको अन्तिम लडाइँ
अहंकार र बदलाको भावनाले उम्लिएपछि रावणले सीताको हरण गरी स्वचालित पुष्पक विमानमा लंकातिर लैजान्छन् । त्यसबेला सीताको उन्मुक्तिका लागि एउटै प्राणीले ज्यानको बाजी लगाउँछ — जटायु, जो वास्तवमा एक पन्छी हुन् ।
आकाशमा विचरण गर्दै संसारलाई नियालिरहेका जटायुले सीताको विवशता र रावणको छल बुझ्छन् र बादलको तहभन्दा माथि उडिरहेको पुष्पक विमानबाट सीतालाई छुटाउन अनेक प्रयास गर्छन् । फिल्मको सबैभन्दा तनावग्रस्त दृश्य यही मानिएको छ, जहाँ सर्वशक्तिमान् रावण र अबोध जटायुबीच घनघोर संघर्ष हुन्छ ।
विमानबाट सीता न चिच्याउन सक्छिन्, न भाग्न, न हाम फाल्न । जटायुले आफ्नो पञ्जा सीताको अघिल्तिर राखिदिन्छन्, तर रावणले देखिहाल्छन् र अन्धाधुन्ध आक्रमण थाल्छन् । यस क्रममा जटायुको पञ्जा छिनिन्छ, करङ भाँचिन्छ र अन्ततः रावणको तिलस्मी अस्त्रले उनका पखेटा काटिन्छ । पराजयको आँसुबाहेक उनका आँखामा केही बाँकी रहँदैन ।
अङ्गभङ्ग भएर भुइँमा पछारिएका जटायु मृत्युअघि रामसँग सीतालाई सहयोग गर्न नसकेकोमा क्षमा माग्छन् र उनलाई रावणले अपहरण गरेको जानकारी दिन्छन् । रावण कति शक्तिशाली छन्, उनको सेना र कार्यकर्ता कति खतरनाक छन् भन्ने पनि उनी बताइदिन्छन्, जसले लंकासम्म पुग्नु रामका लागि असम्भवजस्तै देखिन्छ । तैपनि सत्यको धरातलमा उभिएका राम युद्ध गर्ने घोषणा गर्छन् र फिल्मको पहिलो भाग यहीँ सकिन्छ ।
अहंकार बढ्दा प्रकृतिमा के हुन्छ
फिल्मले रावणलाई सोझै खलनायकका रूपमा प्रस्तुत गरेको छैन । चेतना र बल दुवैले युक्त उनी जितहरूले मात्तिँदै गएपछि मात्र खलनायक बन्छन्, र फिल्मले मानवीय गुणहरूको यो भीषण द्वन्द्वलाई सजीव रूपमा उतारेको छ ।
भिएफएक्सका भव्य दृश्यमुनि फिल्मले मान्छेमा अहंकार, अधर्म र असत्य बढ्दै जाँदा प्रकृति कति भयानक बन्छ भन्ने सन्देश पनि राखेको छ — खोलामा पानी बग्दैन, रुखमा हरियाली रहँदैन र पशुप्राणी स्वच्छन्द विचरण गर्न पाउँदैनन् ।
रामायणको कथा नेपाली दर्शकका लागि नयाँ होइन — १४ वर्षे वनवास, स्वचालित पुष्पक विमान र सुनले बनेको लंकाको बखान उनीहरू राम्ररी जान्दछन् । तर त्यही पौराणिक कथामाथि बनेको फिल्म हेर्न दर्शक हलमा ओइरिनुको कारण कथा मात्र नभई कथा भन्ने शैली हो । पौराणिक पात्रहरूलाई आधुनिक प्रविधिको भव्य दृश्यभाषामा उतारिएकाले छुट्टै आकर्षण पैदा गरेको छ, भने पात्रको विनिर्माण, घटनाको जोडघटाउ तथा भित्री सन्देश र दर्शनले फिल्मलाई विशेष बनाएको छ ।
यही कारण तीन घण्टाभन्दा बढी समय एउटै कुर्सीमा बसेका दर्शक पनि उठ्न नचाहेको टिप्पणी गरिएको छ — असत्यले जितेको हेर्न नचाहने मानिसहरू सत्यको विजय हेर्ने अतृप्त चाहनासँगै पर्दामा क्रेडिट लाइन सकिएसम्म बसिरहे ।







